२ आश्विन २०८३, शुक्रबार

 

संस्थापनइतरले बागलुङ कांग्रेसको संयोजकमा सागर छन्त्याललाई तोक्यो

बागलुङ । नेपाली कांग्रेस संस्थापनइतर पक्षले बागलुङ जिल्ला संयोजकको जिम्मेवारी सागर छन्त्याललाई दिएको छ ।

संस्थापनइतर पक्षका संयोजक शशांक कोइरालाले छन्त्याललाई जिल्ला संयोजक तोकिएको पत्र पठाएका हुन् । छन्त्याल नेपाली कांग्रेस बागलुङका जिल्ला उपसभापति हुन् ।

यसअघि नेपाली कांग्रेस बागलुङका सभापति जीतबहादुर शेरचनले १५औँ महाधिवेशनअन्तर्गतको अधिवेशन प्रक्रिया अघि नबढाएपछि केन्द्रीय कार्यसमितिले जिल्ला उपसभापति तारानाथ पौडेललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको थियो ।

कार्यवाहक सभापतिको जिम्मेवारी पाएसँगै पौडेलले बुधबार जिल्ला कार्यसमितिको बैठक राखेर वडा अधिवेशनको तयारी अघि बढाएका छन् । कांग्रेसले असोज ३ र ४ गते वडा अधिवेशन गर्ने कार्यतालिका बनाएको छ ।

सभापति शेरचन नियमित महाधिवेशनको पक्षमा रहँदै आएका छन् । उनी हाल गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्रीसमेत हुन् ।

बागलुङसँगै कञ्चनपुर, कैलाली, डोटी र मुगुमा पनि कार्यवाहक सभापति तोकिएको छ । ती जिल्लामा निर्धारित महाधिवेशन प्रक्रिया अघि बढाउन नसक्ने जानकारी आएपछि केन्द्रले कार्यवाहक सभापति तोकेको हो ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung