२ आश्विन २०८३, शुक्रबार

 

विद्या-विष्णु जेहेन्दार छात्रवृत्ति अक्षय कोषद्वारा १९ विद्यार्थीलाई छात्रवृत्ति

- धवलागिरि वीरेन्द्र माविका ३ सय ५० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

बागलुङ । विद्या-विष्णु जेहेन्दार छात्रवृत्ति अक्षय कोषमार्फत धौलागिरि क्षेत्रका एसईईमा जिल्ला प्रथम हुने विद्यार्थीलाई नगद छात्रवृत्ति तथा धवलागिरि वीरेन्द्र माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ।

शुक्रबार धवलागिरि वीरेन्द्र माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा कोषले धौलागिरि क्षेत्रका चार जिल्लाबाट एसईईमा जिल्ला प्रथम भएका १९ जना विद्यार्थीलाई जनही रु चार हजारका दरले नगद छात्रवृत्ति प्रदान गरेको हो।

सोही अवसरमा विद्यालयमा अध्ययनरत करिब ३ सय ५० जना विद्यार्थीलाई रु एक लाख ३१ हजार बराबरको शैक्षिक सामग्री वितरण गरिएको थियो।

कार्यक्रममा धवलागिरि वीरेन्द्र माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन शर्मा, प्रधानाध्यापक भूमिराज गौतम, कोषका सल्लाहकार वेदप्रसाद शर्मा, समाजसेवी कृष्णराज शर्मा, अभिभावक खगेश्वर रिजाल, समाजसेवी विश्वनाथ रेग्मी तथा रात्माटा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष माधवप्रसाद शर्माले मन्तव्य व्यक्त गरेका थिए।

विद्यानन्द उपाध्याय र विष्णुकुमारी पौडेलको स्मृतिमा उहाँहरूका छोराबुहारी युवराज उपाध्याय–प्रेमकुमारी उपाध्याय, जगदीश पौडेल–गीता पौडेल तथा प्रा.डा. महेन्द्रप्रसाद शर्मा–बसुदा शर्माले रु ११ लाखको अक्षय कोष स्थापना गरेका हुन्।

कोष विसं २०७५ मंसिर ७ गते जिल्ला प्रशासन कार्यालय बागलुङमा दर्ता भएको थियो।

कार्यक्रममा कोषका संरक्षक जगदीश पौडेल र गीता पौडेलले विद्यालयलाई स्मार्ट बोर्ड उपलब्ध गराउने तथा कोषको वार्षिक कार्यक्रमका लागि थप रु एक लाख सहयोग गर्ने घोषणा गरेका छन्।

कार्यक्रम विद्या-विष्णु जेहेन्दार छात्रवृत्ति अक्षय कोषका अध्यक्ष बैकुण्ठ सापकोटाको अध्यक्षता, संरक्षक जगदीश पौडेलको स्वागत मन्तव्य तथा उपाध्यक्ष लिलारा गौतमको सञ्चालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung