बागलुङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बागलुङ नगरपालिकाको नगर अधिवेशन बुधबार हुँदैछ । नगर सभापतिका लागि वर्तमान नगर उपसभापति नारायण पौडेल र नगर सचिव आशिक राजभण्डारीले उम्मेदवारी घोषणा गरेका छन् ।
बागलुङ नगरपालिका–३ राधाकृष्ण टोलस्थित राधाकृष्ण मन्दिरको सभाकक्षमा हुने अधिवेशनबाट नगर नेतृत्व चयन गरिनेछ । नगर सभापति उमाकान्त शर्मा ‘बाबु’का अनुसार नगरका सबै वडाबाट निर्वाचित क्षेत्रीय प्रतिनिधिले अधिवेशनमा मतदान गर्नेछन् ।
नगर अधिवेशनका लागि जिल्ला निर्वाचन समितिले निर्वाचन समिति पठाउने नगर समितिले जनाएको छ ।
अधिवेशनअन्तर्गत जिल्लाका सबै वडाबाट ३ हजार ७ सय २७ जना क्रियाशील सदस्य निर्वाचित भएका छन्। पार्टी विधानअनुसार वडा सभापति र क्रियाशील सदस्यको संख्याका आधारमा क्षेत्रीय प्रतिनिधि छनोट हुने व्यवस्था छ।
भोलि हुने अधिवेशनमा ४ सय ५१ जना क्षेत्रीय प्रतिनिधिले मतदानमा भाग लिने भएका छन्।
कांग्रेसको नगरअन्तर्गतका सबै वडाको अधिवेशन सम्पन्न भइसकेपछि नगर अधिवेशन हुन लागेको हो । सभापतिका दुवै उम्मेदवार नगर समितिकै पदाधिकारी हुन् । पौडेल हाल नगर उपसभापति र राजभण्डारी सचिवको जिम्मेवारीमा छन् ।
उम्मेदवारी घोषणा गरेसँगै दुवै पक्षले आफ्नो टिम निर्माण तथा समर्थन जुटाउने प्रयास थालेका छन् । उनीहरूले पार्टीका नेता तथा कार्यकर्तासँग भेटघाट गर्दै आफ्नो पक्षमा प्रचार प्रसार अभियानलाई तीव्र बनाएका छन् ।
















































































































































































