बागलुङ । लायन्स क्लब अफ धौलागिरि बागलुङले बाढी प्रभावित परिवारलाई निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराएको छ।
पर्वतको जलजला गाउँपालिका–८ फर्सेका बाढी प्रभावित परिवारलाई क्लबले बागलुङ केवलको सहकार्यमा निःशुल्क इन्टरनेट सेवा जडान गरिदिएको हो।
आइतबार फर्सेका १७ वटा होल्डिङ सेन्टरमा बस्दै आएका परिवारलाई क्लबको समन्वयमा बागलुङ केवलले इन्टरनेट सेवा उपलब्ध गराएको लायन्स क्लब अफ धौलागिरि बागलुङका अध्यक्ष मनोज श्रेष्ठले जानकारी दिनुभयो।
होल्डिङ सेन्टरमा बसोबास गर्दै आएका ज्येष्ठ नागरिक, विद्यार्थी, किसान, महिला, श्रमिक तथा उद्यमीलाई सञ्चार र सूचना प्रविधिको पहुँच सहज बनाउने उद्देश्यले उक्त सहयोग गरिएको क्लबका चिफ एक्जुकेटिभ अफिसर काजिमान गुरुङले बताउनुभयो।
उक्त कार्यक्रममा चिफ एक्जुकेटिभ डाइरेक्टर पार्वती अधिकारी, डिपार्टमेन्ट चिफ ओम प्रकाश गौतम, जोन चियर पर्सन गणेश महतो, लायन्स क्लब अफ बागलुङ सिटीका अध्यक्ष सन्ध्या राजभण्डारी, प्रवुद्ध युवा समूह बागलुङका कोषाध्यक्ष वर्षा प्रधानको पनि उपस्थिति रहेको थियो ।
गत असोज ११ गते परेको अविरल वर्षापछि आएको बाढीले जलजला गाउँपालिका–८ फर्सेको पुरानो बजारका ६६ घरमा क्षति पुर्याएको थियो भने २५ घर उच्च जोखिममा परेका थिए। बाढीबाट प्रभावित परिवार अहिले विभिन्न होल्डिङ सेन्टरमा बस्दै आएका छन्।

















































































































































































