बागलुङ । बागलुङको निसीखोला गाउँपालिका–१ स्थित सल्लेरी सामुदायिक वनको झाडीबाट प्रहरीले सात थान अवैध भरुवा बन्दुक बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट बुधबार बिहान खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा वनको वनमारा झाडीभित्र बेवारिसे अवस्थामा लुकाइराखिएका बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फणिन्द्रप्रसाईले जानकारी दिए।
उनका अनुसार झाडीभित्र लुकाइछिपाइ राखिएको अवस्थामा फेला परेका सातै थान भरुवा बन्दुक बरामद गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।
बन्दुक कसले र के प्रयोजनका लागि जंगलमा लुकाएर राखेको थियो भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको प्रहरी उपरीक्षक प्रसाईले बताए।
















































































































































































