२२ आश्विन २०८३, बिहीबार

 

पहिरोमा ज्यान गुमाएका तीन परिवारलाई ताराखोला गाउँपालिकाको एक–एक लाख राहत

बागलुङ । पहिरोमा परी ज्यान गुमाएका ताराखोला गाउँपालिकाका तीन परिवारलाई गाउँपालिकाले प्रतिपरिवार एक लाख रुपैयाँका दरले नगद राहत उपलब्ध गराएको छ।

गाउँकार्यपालिकाको निर्णयअनुसार पहिरोमा परी मृत्यु भएका तीन जनाका परिवारलाई गाउँपालिकाले एक–एक लाख रुपैयाँ नगद राहत उपलब्ध गराएको हो।

असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी ताराखोला गाउँपालिकामा तीन जनाको मृत्यु भएको थियो।

गाउँपालिका अध्यक्ष धनबहादुर विक, प्रमुख प्रशासकीय अधिकृत विमल रिजाल, सम्बन्धित वडाध्यक्षलगायतको टोली पीडितको घरमै पुगेर राहत रकम हस्तान्तरण गरेको हो।

गाउँपालिकाले बाढीपहिरोबाट प्रभावित नागरिकको राहत, पुनःस्थापना तथा क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्न अपिलसमेत गरेको छ।

बाढीपहिरोका कारण घरबास, सडक, विद्यालय भवन, सार्वजनिक भवन, विद्युत् संरचना तथा प्रसारण लाइनमा क्षति पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमल रिजालले जानकारी दिनुभयो।

यसैबीच, गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ताराखोलाका बाढीपहिरोपीडितका लागि पाँच लाख रुपैयाँभन्दा बढी मूल्यका खाद्यान्न, लत्ताकपडा तथा अन्य अत्यावश्यक सामग्री उपलब्ध गराएको छ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung