बागलुङ । विश्व मानसिक स्वास्थ्य दिवस २०२६ को अवसरमा खुसी मन बागलुङको आयोजना तथा नेपाल प्रेस युनियन बागलुङको संयोजनमा सञ्चालित तीनदिने मनोसामाजिक सचेतना अभियान शनिबार सम्पन्न भएको छ।
‘वास्तविक अनुभवको आवाज सुनौँ, वास्तविक परिवर्तन ल्याऔँ’ भन्ने मूल नाराका साथ असोज २२ देखि २४ गतेसम्म सञ्चालन भएको अभियानमा विपद् प्रभावित क्षेत्रका विद्यार्थी तथा शिक्षक, क्याम्पसका विद्यार्थी, युवा र सञ्चारकर्मीलाई लक्षित गरी विभिन्न सचेतनामूलक तथा क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिएको थियो।
अभियानले मानसिक स्वास्थ्य, तनाव व्यवस्थापन, डिजिटल कुलत, मनोसामाजिक सहयोग र जिम्मेवार सञ्चार अभ्यासबारे सचेतना अभिवृद्धि गर्ने उद्देश्य राखेको थियो।
अभियानको पहिलो दिन असोज २२ गते पर्वतको जलजला गाउँपालिका–१, फर्सेस्थित श्री शिव माध्यमिक विद्यालयमा बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित विद्यार्थी र शिक्षकका लागि मनोवैज्ञानिक प्राथमिक उपचार तथा मनोसामाजिक सुस्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिएको थियो।
कार्यक्रममा खुसी मन बागलुङका अध्यक्ष नारायणप्रसाद आचार्य र सचिव योगराज कँडेलले शिक्षकहरूलाई तनाव व्यवस्थापन तथा मनोवैज्ञानिक प्राथमिक उपचारका विषयमा सहजीकरण गर्नुभएको थियो। त्यस्तै, संस्थाका कार्यसमिति सदस्य उमा चालिसे र सदस्य शारदा शर्मा आचार्यले विद्यार्थीहरूलाई तनाव व्यवस्थापन, सकारात्मक सोच र मनोसामाजिक सुस्वास्थ्यका विषयमा जानकारी गराउनुभएको थियो।
कार्यक्रममा बागलुङ नगरपालिकाका कार्यपालिका सदस्य तथा संस्थाकी सदस्य ज्योति केसी विष्टले स्थानीय तहले पनि मानसिक स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको थियो।
अभियानको दोस्रो दिन असोज २३ गते धौलागिरि बहुमुखी क्याम्पस, बागलुङमा विद्यार्थी तथा युवालाई लक्षित गरी तनाव व्यवस्थापन तथा डिजिटल कुलतसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिएको थियो।
कार्यक्रममा अध्ययन, परीक्षा र भविष्यप्रतिको चिन्ता व्यवस्थापन गर्ने उपाय, मोबाइल तथा सामाजिक सञ्जालको अत्यधिक प्रयोगले पार्न सक्ने असर र डिजिटल प्रविधिको सन्तुलित प्रयोगका व्यावहारिक उपायबारे सहजीकरण गरिएको थियो। सहभागीलाई दैनिक जीवनमा तनाव व्यवस्थापनका उपाय अपनाउन र प्रविधिको जिम्मेवार प्रयोग गर्न प्रेरित गरिएको थियो।
अभियानको अन्तिम दिन असोज २४ गते बागलुङका क्रियाशील पत्रकारका लागि जिम्मेवार मिडिया रिपोर्टिङ तथा मनोवैज्ञानिक प्राथमिक उपचारसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिएको थियो।
कार्यक्रममा आत्महत्या तथा आत्महानिसम्बन्धी समाचार सम्प्रेषण गर्दा अपनाउनुपर्ने संवेदनशीलता, पत्रकारिताको आचारसंहिता र समाचारले व्यक्ति, परिवार तथा समुदायमा पार्न सक्ने प्रभावबारे छलफल गरिएको थियो। साथै, संकटपूर्ण परिस्थितिमा सहयोग आवश्यक परेका व्यक्तिलाई प्रारम्भिक मनोसामाजिक सहयोग प्रदान गर्ने आधारभूत उपाय र पत्रकारले आफ्नै मानसिक सुस्वास्थ्यको ख्याल राख्नुपर्ने विषयमा सहजीकरण गरिएको थियो।
अन्तिम दिनको कार्यक्रमसँगै तीनदिने अभियान औपचारिक रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।
खुसी मन बागलुङले मानसिक स्वास्थ्यका क्षेत्रमा सचेतना, परामर्श तथा क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस अभियानमार्फत विपद् प्रभावित समुदाय, विद्यार्थी, युवा तथा सञ्चारकर्मीलाई लक्षित गरी मानसिक स्वास्थ्य र मनोसामाजिक सहयोगसम्बन्धी व्यावहारिक ज्ञान विस्तार गर्ने प्रयास गरिएको संस्थाले जनाएको छ।
मानसिक स्वास्थ्यलाई व्यक्तिगत विषयमा मात्र सीमित नराखी परिवार, विद्यालय, समुदाय र सञ्चार क्षेत्रको साझा सरोकारका रूपमा स्थापित गर्न यस्ता कार्यक्रमले सहयोग पुर्याउने अपेक्षा गरिएको छ। संस्थाले आगामी दिनमा पनि मानसिक स्वास्थ्यसम्बन्धी सचेतना, मनोसामाजिक सहयोग र क्षमता विकासका गतिविधिलाई निरन्तरता दिने जनाएको छ।
















































































































































































