२६ आश्विन २०८३, सोमबार

 

विद्यामन्दिर माविका बाढीपीडित पाँच विद्यार्थीका परिवारलाई आर्थिक सहयोग

बागलुङ । विद्यामन्दिर माध्यमिक विद्यालयले बाढीबाट प्रभावित विद्यार्थीका परिवारलाई आर्थिक सहयोग उपलब्ध गराएको छ। अविरल वर्षापछि आएको बाढीबाट प्रभावित पर्वतको जलजला गाउँपालिका–८, फर्सेका पाँच जना विद्यार्थीका परिवारलाई सोमबार विद्यालयले सहयोग हस्तान्तरण गरेको हो।

विद्यालयका तर्फबाट प्रत्येक परिवारलाई १२ हजार ७ सय ४० रुपैयाँका दरले आर्थिक सहयोग प्रदान गरिएको छ। उक्त रकम विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीबाट संकलन गरिएको थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीजय श्रेष्ठ, सदस्य अनुज श्रेष्ठ, निमित्त प्रधानाध्यापक मुकुन्दप्रसाद शर्मा, सहायक प्रधानाध्यापक ९प्रशासनिक० थानेन्द्र गौतम, बिहानी इन्चार्ज शंकर थापा र विज्ञान इन्चार्ज कृष्ण गौतमले प्रभावित विद्यार्थीका परिवारलाई सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो।

चाडपर्वको समयमा बाढीबाट प्रभावित विद्यार्थीका परिवारलाई केही भए पनि राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीजय श्रेष्ठले बताउनुभयो। उहाँले बाढी प्रभावित विद्यार्थीलाई विद्यालयले निःशुल्क अध्ययनको व्यवस्था मिलाउने जानकारीसमेत दिनुभयो।

गत असोज ११ गते आएको बाढीले जलजला गाउँपालिका–८, फर्सेको पुरानो बजारका ६६ घरमा क्षति पुर्‍याएको थियो भने २५ घर उच्च जोखिममा परेका छन्।

सहयोग हस्तान्तरण कार्यक्रममा कक्षा १२ व्यवस्थापन समूहमा अध्ययनरत आयुषा सुवेदी र रेजिना नेपाली, कक्षा १२ शिक्षा समूहकी प्रकृति घर्ती, कक्षा ११ विज्ञान समूहकी लविसा मगर तथा कक्षा ११ शिक्षा समूहकी सोनिया विकको उपस्थिति थियो।

बाढीबाट प्रभावित विद्यार्थीलाई आर्थिक सहयोगसँगै निःशुल्क अध्ययनको व्यवस्था गर्ने विद्यालयको पहलले विपद्का कारण समस्यामा परेका विद्यार्थीलाई राहत पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung