बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका–८ सुनारथोकमा बोलेरो पिकअप जीपको ठक्करबाट चार वर्षीय बालकको मृत्यु भएको छ ।
शुक्रबार दिउँसो ढोरपाटनबाट बुर्तिबाङतर्फ जाँदै गरेको लु १ ज ४९०४ नम्बरको बोलेरो पिकअपले सडक पार गर्दै गरेका स्थानीय अंकित विकका चार वर्षीय छोरा रिकोस विकलाई ठक्कर दिएको थियो ।
जीपको ठक्करबाट गम्भीर घाइते भएका बालकलाई उपचारका लागि बुर्तिबाङ प्रादेशिक अस्पताल लगिएको थियो । उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईले जानकारी दिनुभयो ।
दुर्घटनामा संलग्न बोलेरो पिकअप र चालक हिमाल विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



















































































































































































