१४ बैशाख २०८१, शुक्रबार

 

‘बहुदलको पक्षमा जनमत तयार गर्न ठुलो जोखिम मोले ’ राजभण्डारी

- बागलुङको राजनीतिक र साँस्कृतिक जागरणका हस्तीको नालीबेली

साठी बर्ष अघि धार्मिक बिषयका पुस्तक पाउन राजधानी काठमाण्डौ नपुगेसम्म संभव थिएन । कतिपय पुस्तकका लागि काशी जानुपर्ने बाध्यता थियो । त्यही समयमा यहाँका लालचन्द्र राजभण्डारीले खोलेको पसलले धेरै धार्मिक आस्था राख्नेको चाहना पुरा गरिदियो ।

धार्मिक आस्थाका मात्र नभइ त्यतिबेला राजभण्डारीले कम्प्युनिष्ट बिचारधाराका पुस्तक पनि बेच्थे । माओत्सेतुङ, कालमाक्र्स, लेलिन, च्वे ग्वाभारा, लगायतका व्यक्तिका जीवनी, कम्युनिष्ट बिचारधाराका सबै पुस्तकहरु पाईने पसल पनि उनकै हो ।

धार्मिक पुस्तक बेच्ने पसलको रुपमा बाहिर देखाएर उनले वामपन्थी बिचार फैलाउने काम समेत गर्दा प्रशासन अलमलिन्थ्यो । ‘धेरै धार्मिक पुस्तक पाईने भएकोले जनताको साथ छ भनेर मलाई पक्राउ गर्न सकेन’ राजभण्डारीले भने, ‘राजनीतिक रुपमा कम्प्युनिष्टको बर्चस्व बढाउन पत्रपत्रिका र पुस्तकबाटै पहल गरेको हुँ ।’ वामपन्थी बिचार सँगै बिपी कोइरालाका पुस्तक र लोकतान्त्रिक धारका पत्रपत्रिका समेत उनले बेचीरहेका छन् । अझैपनि महान व्यक्तिका जीवनी खोज्नुपरे उनकै पसलको नाम आउँछ ।

प्रतिवन्दित कालमा उनले दर्जनौं पत्रपत्रिका ल्याएर बागलुङमा बेचेका थिए । राजनीतिक आस्था राख्नेले लुकेर पढ्थे । विशेषगरी त्यतिबेलाका समीक्षा ,मातृभुमि ,देशान्तर, राष्टपुकार, चर्चा ,युगधारा,विमर्श, नया सन्देश ,सत्य ,पृष्ठभुमि,प्रकाश ,युगवाणी,जनादेश, साप्ताहिकहरु गोरखापत्र र राजनीतिक मुखपत्रको रुपमा निस्कने सबै अखवार उनको पसलमा पाईन्थ्यो । तर चिनेजानेको बाहेक अरुलाई गोरखापत्र मात्र बेच्थे । किन्ने थोरै भएपनि दैनिक एकसय ५० जनाले प्रगतीशिल पत्रिका पढ्ने गरेको उनको अनुभव छ ।

सुस्केरा ,झिसमिसे, रुपरेखा,वेदना , अभिव्यक्ति ,बगर ,कालिको छाल , जनसाहित्य ,उत्साह ,्िझल्को ,कलम ,अभियान ,नवचेतना लगाएतका साहित्यीक तथा बैचारिक मासिक पत्रिकाहरु विभिन्न माध्यमबाट झिकाएर जनचेतना बढाउने कार्यमा पसलले वैचारिक केन्द्रको रुपमा काम गरेको थियो ।

प्रगतीशिल पत्रपत्रिका बेचेको भेउ पाएपछि अञ्चलाधिसले उनको पसलबाट कागज, कलम लगायतका सामाग्री नकिन्न सबै सरकारी कार्यालयलाई उर्दी लगाए । २०१९ सालदेखि शुरु भएको राजभण्डारीको पसल निरन्तर चलेको यो क्षेत्रकै पहिलो हो । त्यस अघि २०१४ सालमा केदारनारायण भारी र महेशकुमार राजभण्डारीको पसल थियो । उक्त पसलमा पनि स्टेशनरी बिक्री हुन्थ्यो । छोटो समयमै बन्द भएपछि अहिलेका पसल धेरै पछि मात्र खुलेका हुन् ।

बाटो र संचारको सुविधा नभएको त्यस कालखण्डमा धौलागिरि अंचलको धेरै सुदुर गाउहरुबाट पुस्तक , पत्रपत्रिकाहरु किनेर राति दियालो बालेर ग्राहकहरु घर फकर्नु पर्ने वाध्यता रहेको राजभण्डारी आफनो अनुभव सुनाउनु हुन्छ ।

त्यति वेला नेताहरुको भाषणहरु ,प्रगतिशिल गीतहरु ,जनपक्षिय उम्मेदवारहरु पद्यरत्न तुलाधर ,सोमनाथ प्यासी, रुपचन्द्र विष्टको भाषण ,कलाकार मदन कृष्ण र हरिवंशका पंचायत विरोधि प्रहसनका क्यासेतहरुे खोल नराखिकन सुृटुक्क विक्री गर्ने गरेको विगतको इतिहास सविस्तार खोले ।पंचायत कालमा व्यावस्था बिरोध ितथा पत्रपत्रिका पुस्तक हुलाकमा अंचलाधिशकको आदेशमा जलाउने गरेको कटु अनुभवका पनि साक्षि छन राजभण्डारी ।

जिल्लाकै जेठो बिद्यामन्दिर माविमा राजभण्डारीले २ बर्ष अध्यापन गरेका थिए । ‘मेरो चाहना जनतालाई जागरण फैलाउने थियो, शिक्षकबाट हटेपनि अध्ययन केन्द्र बनाएर जागरण बढाउन पाएँ’ उनले भने, ‘पटक पटक प्रशासनले धरपकट गरेपनि यो पेशा छाडिन ।’ २०४६ को परिवर्तन ताका र शेरबहादुरले लगाएको संकटकालमा बढी समस्यामा परेको उनले बताए । सेनाले पटक पटक परिवारका सदस्यलाई तनाव दिएको उनले बताए । घर घेराउ गरेर मार्ने योजना बनाउँदा छिमेकीको सुराकीले बाँचेको उनको अनुभव छ ।

मोहन विक्रम सिंहबाट प्रभावित राजभण्डारी लामो समय सम्म उनकै बिचारमा रहे । २०५२ देखि संचालित जनयुद्धको पक्षधर भएकोले उनले माओवादीको सदस्यता लिए । सदस्यता लिएपनि उनले सक्रिय राजनीति गरेनन् । छोरा मुकेशचन्द्र राजभण्डारीले भूमिगत राजनीति पनि गरेका थिए ।

साहित्य मार्फत तिखो आलोचना गर्ने, पत्रकारिता मार्फत लेखन बढाउने र बैचारिक बहस मार्फत संगठन गर्ने राजभण्डारीका बाबुछोराको क्षमताले माओवादी आन्दोलन अन्यत्र भन्दा बागलुङ बजारमा बलियो बनेको कार्यकर्ताको बुझाई छ । ‘उहाँहरुको योगदानको मूल्यांकन सामान्य रुपमा गर्न सकिंदैन’ नेकपाका जिल्ला नेता निर्मल श्रेष्ठले भने, ‘बैचारिक आन्दोलन सफल पार्न उहाँले देखाएको बाटो मार्गदर्शक भयो ।’

सेना र प्रहरीले चालेका सफाई अभियानमा कार्यकर्ताको ज्यान जोगाउने काममा राजभण्डारीले अगुवाई गरेको श्रेष्ठले बताए । सामाजिक अभियान्ता भएकोले प्रशासनले पक्राउ गर्न नसकेको अवसर राजभण्डारीले भरपुर उपयोग गरेका थिए । महाभारत देखि धार्मिक पुस्तक बेच्ने पसलमै कम्प्युनिष्ट आन्दोलनका दर्जनौं पुस्तक बेचेर उनले राजनीतिक र सास्कृतिक जागरण फैलाएको नेकपाका नेता देबेन्द्र पौडेलको बुझाई छ । शान्ति सम्झौतापछि तत्कालिन माओवादीले राजभण्डारीलाई सम्मान पनि गरेको थियो ।

उमेरले बुढ्यौली भएपनि अझै उनी सामाजिक काममा सक्रिय छन् । पसलमा प्रगतीशिल पुस्तक र अखवार बेच्न राख्छन् । छोरा राजेशचन्द्र राजभण्डारी र मुकेशचन्द्र राजभण्डारीले उनको पेशालाई निरन्तरता दिएका छन् । टाढाटाढाबाट आएका ग्राहकले अहिले पनि लालचन्द्रको पसल खोज्दै भेट्न पुग्छन् । अहिले पनि उनको पसलमा धार्मिक ग्रन्थ र प्रगतीशिल पुस्तक बराबरी बिक्री हुन्छ ।

प्रतिक्रिया दिनुहोस्