१४ बैशाख २०८१, शुक्रबार

 

हिमपातले सयौँ चौरी मरे, कयौँ वेपत्ता

महीनौँको निरन्तर हिमपातले मनाङमा चौँरी मर्न थालेका छन्।

मनाङका चौरीगोठ हिउँले पुरिएका छन् भने हिमपात खप्न नसकेर भाग्ने क्रममा चौँरी लडेर मर्ने क्रम वढेको छ।

मनाङमा दुई हजारको सङ्ख्यामा रहेका चौँरी अहिले के–कति कस्तो अवस्थामा छन् भन्ने यकिन तथ्याङ्क भने आएको छैन। कति जिउँदै बेपत्ता छन् भने केही मरेको भेटिन थालेका छन्।

जिल्लाको माथिल्लो भेगमा रहेका चौँरीको अवस्था कस्तो छ भन्ने अत्तोपत्तो छैन।

तल्लो भेगका चामे गाउँपालिका र नासों गाउँपालिकामा ४०० जति चौँरी बेपत्ता छन्। ६० भन्दा बढी चौरी मरेका चौँरीपालक सुरेश थकालीले बताए।

उनका अनुसार नासों गाउँपालिकामा रहेको नाचेगाउँका बलबहादुर गुरुङ र काशीराम गुरुङको गोठबाट २०० चौँरी हराएका छन् । तिनीहरुको खोजीकार्य जारी छ।

त्यस्तै तिमाङको वनमा रहेको पासाङ लामाको ३५ चौँरी तथा तिल्चेको लेकबाट ङिमाओङ्गेल पुनेल र धर्मजङ गुरुङको ६० चौँरीको अवस्था अज्ञात छ।

‘एउटा चौँरीको मूल्य एक लाख २० हजारभन्दा बढी पर्छ, यतिका धेरै चौरी हराउँदा या मर्दा जो कसैले मन थाम्न सक्ला र?’ चौरी पालक किसान धनबहादुर गुरुङले भने, ‘पाँच वटा चौरी त आँखा अगाडि नै मरे भने अरु जिउँदैछन् कि मरिसके केही अत्तोपत्तो छैन । हिमपातले न खोज्न जान सकिएको छ न त चौँरी फर्किएर गोठमा आएका छन्।’

चौँरीपालक किसानका अनुसार हिमपातले करोडौँको नोक्सान भएको छ। हराएका चौँरीको नामोनिसान भेट्टाउन सकिएको छैन। ‘हिउँले पुरिएर बसेका छन् कि कतै भीरमा खसे केही अत्तोपत्तो भएन’, अर्का चौँरीपालक धर्मजङ गुरुङले भने, ‘खोज्न जाउँ भने पनि दिनदिनै जस्तो हिमपात भइरहेको छ । हिँड्डुल गर्न नै गाह्रो छ।’

तल्लो मनाङका ताल, नाचे, तिल्चे, ओढार र तिमाङलगायतका ठाउँमा मात्रै ४०० चौँरी हराएका तथा तथा मरेको तथ्याङ्क किसानसँगछ।

प्रतिक्रिया दिनुहोस्