१४ बैशाख २०८१, शुक्रबार

 

प्रदेश सरकारको पहिलो प्राथमिकता स्वास्थ्य र शिक्षा– मन्त्री पुन

बागलुङ– गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले प्रदेश सरकारले समृद्ध गण्डकी निर्माणका लागि स्वास्थ्य र शिक्षालाई पहिलो प्राथमिकतामा राखेको बताएकी छन्। बागलुङको ताराखोला गाउँपालिका–१ अभरभुमिमा नवनिर्मित स्वास्थ्य चौकीको भवनको उदघाट्न गर्दै मन्त्री पुनले प्रदेश सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा ठूलो लगानी गर्ने उद्देश्य रहेको बताईन् । उनले प्रदेश सरकारले मृगौला, मुटु र क्यान्सर जस्ता रोगहरुको एकै ठाउँमा उपचार हुने अस्पताल निर्माण गर्ने योजना रहेको जानकारी दिईन । प्रदेश सरकार सुविधा सम्पन अस्पताल निर्माणको प्रक्रियामा छ, यसका लागि हामी जग्गा व्यवस्थापनमा जुटेका छौं मन्त्री पुनले भनिन, ‘अब ठुलो रोगको उपचारका लागि पनि यहाँका जनता काठमाडौं, चितवन धाउनु पर्दैन । आगामी ५ वर्षमा हामी सुविधा सम्पन्न अस्पताल पोखरा र आसपासका क्षेत्रमा निर्माण गरेर छाड्छौं ।’

उनले अहिले तिन तहको सरकारले गर्दा जनताले आफ्नो अधिकारको प्रत्याभुतिको महशुस गरेको बताईन । हिजोको दिनमा आम नागरिकले पाउने सेवा सुविधा धेरै घुमाउरो बाटोबाट थियो मन्त्री पुनले भनिन,– अहिले तिन तहको सरकार छ जनताले सर्वसुलभ तरिकाले सेवा सुविधा पाईरहेका छन । हामी जनताको काम गर्न आएका हौं जनतालाई सहज बनाउने हाम्रो उद्देश्य हो । मन्त्री पुनले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रको विकासका निम्ती विभिन्न किसीमका योजना बनाएको बताईन। कार्यक्रममा प्रदेश सभा सदस्य चन्द्रबहादुर बुढा सागरले स्वास्थ्य क्षेत्रको विकासका निम्ती आम समुदायका व्यक्ति र कर्मचारीको उत्तिकै दायित्व हुने बताएका थिए । त्यस्तै ताराखोला गाउँपालिकाका गाउँपालिका अध्यक्ष प्रकाश घर्ति मगरले समृद्ध गाउँपालिका र स्वच्छ ताराखोला निर्माणका लागि गाउँपालिकाले नयाँ कामको थालनी गरेको जानकारी गराएका थिए ।

कार्यक्रमा स्वास्थ्य कार्यालय बागलुङका बरिष्ठ जनस्वास्थ्य प्रशासक दीपकप्रसाद तिवारी, ताराखोला गाउँपालिकाका उपाध्यक्ष डिलकुमारी पुन जिल्ला समन्वय समितिका सदस्य फुलमायाँ पुन, स्वास्थ्यचौकीका पुर्व प्रमुख सिता थापा, स्वास्थ्य चौकीका व्यवस्थापन समितिका पुर्व अध्यक्ष होमबहादुर रोका, प्रजातन्त्र माविका प्रध्यानध्यापक भिमबहादुर रोका, पुर्व गाविस अध्यक्ष नन्दलाल रेग्मी, जग्गा दाता जनक घर्ति लगायतले बोलेका थिए ।

कुल १ करोड ५६ लाख ६३ हजार २ सय ६४ लागत अनुमान रहेको स्वास्थ्य चौकीको कुल १ करोड ३१ लाख १३ हजार ४ सय ९० मा ठेक्का सम्झौता भै निर्माण कार्य सम्पन्न भएको थियो । निर्माणको जिम्मा जुम्ली आचार्य जेवी तिलक निर्माण सेवा बागलुङले लिएको थियो । स्वास्थ्य चौकी निर्माणको थालनी गरेको ७ महिना अगाडी नै निर्माण कार्य सम्पन्न गरेको निर्माण कम्पनीका प्रतिनिधि हरि केसीले बताए । निर्माण कम्पनीले १८ महिनाको समय लिई भवन डिभिजन कार्यालय सँग सम्झौता गरेको थियो तर ११ महिनामा नै स्वास्थ्य चौकीको निर्माण कार्य सम्पन्न गरेको छ ।

कार्यक्रममा स्वास्थ्य चौकीका लागि जग्गा प्रदान गर्ने जग्गा दाताहरुलाई सम्मान गरिएको थियो । कार्यक्रम स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष एवं वडा नं. १ का वडा अध्यक्ष यम बहादुर श्रीषको अध्यक्षता स्वास्थ्य चौकीका हेल्थ असिष्टेण्ट ममता मुखियाको स्वागत र स्थानिय शिक्षक दलबहादुर रोका संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्