१४ बैशाख २०८१, शुक्रबार

 

तारा र निसीखोला गाउँपालिकामा पशु विज्ञान प्राविधिकको पढाइ हुने

बागलुङ । तारा गाउँपालिका र निसीखोला गाउँपालिकामा पशु विज्ञान प्राविधिक विद्यालय सञ्चालन हुने भएको छ । बागलुङ जिल्लाको ताराखोला गाउँपालिकामा रहेको नेपाल माध्यमिक विद्यालय र निसीखोला गाउँपालिकामा रहेको ज्ञानेन्द्र माविमा प्राविधिक विषयहरू पढाइ हुने भएको हो । ‪ नेपालभर १ सय ५५ प्राविधिक विद्यालय सञ्चालन गर्ने सरकारको लक्ष्य रहेकोमा बागलुङमा दुई स्थानमा सम्बन्धन दिएको छ । यसले विद्यार्थीलाई जिल्ला भन्दा बाहिर बसेर  पढ्नुपर्ने बाध्यताकाे अन्त्य भएकाे छ ।

घरमै बसेर प्राविधिक बिषयकाे अध्ययन

ताराखोला कृषि र पशुको सम्भावना रहेको ठाउँ भएकाले यहाँका विद्यार्थीले घरमै बसेर अध्ययन गर्ने सुनौलो अवसर प्राप्त भएकाे  नेपाल माध्यमिक विद्यालय ताराखोलाका अध्यक्ष दिवस खत्री ‘पदम’ बताएका छन् ।  लामो समयको प्रयासपछि यहाँका विद्यार्थीले पशु विज्ञान विषय घरमै बसेर अध्ययन गर्न  पाउने बातावरण बनेको अध्यक्ष खत्रीकाे भनाइ छ  ।

‘केही समयअघि विद्यालयको स्वर्ण महोत्सवमा एक वर्षभित्र प्राविधिक शिक्षालयमा हामी रुपान्तरित हुन्छौं भनेका थियौँ अध्यक्ष खत्रीले भने, एक वर्ष पुरा नहुँदै त्यो सपना पुरा भएको छ । अब विद्यार्थीले महंगाे रकम तिरेर पढ्नुपर्ने बाध्यता अन्त्य भएकाे छ ।’

यस अघि विद्यालयको स्वर्ण महोत्सवको उदघाट्नका लागि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ताराखोला पुगेका थिए ।

प्राविधिक विद्यालय स्थापनाको लागि  ५० औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको स्वर्ण महोत्सवमा एक करोड उठाउने लक्ष्य राखिएको थियाे ।

प्रतिक्रिया दिनुहोस्