१४ बैशाख २०८१, शुक्रबार

 

कान सुन्न छाड्नुका कारण

काठमाडौं । कान शरीरको महत्वपूर्ण अंग हो। कानले चारैतिर गुञ्जने ध्वनी सुन्ने काम गर्छ। तर, कतिपय व्यक्तिले सुन्ने शक्ति (हियरिङ) गुमाएका हुन्छन्। कानको सुन्ने शक्ति विभिन्न कारणले गुम्ने गर्छ।

विश्वको तथ्यांक हेर्ने हो भण्ने ४ सय ६० मिलियन मानिसमा कुनै न कुनै रुपमा हियरिङ लस छ। यस्तै क्रम चल्ने हो भने सन् २०३० सम्ममा ६ सय मिलियन मानिसमा कुनै कुनै रुपमा हियरिङ लस हुने अनुमान डब्लुएचओले गरेको छ।

नेपालमा कति मानिसमा यस्तो समस्या छ भन्ने यकिन तथ्यांक छैन तर १५ देखि १७ प्रतिशत मानिसमा सुन्ने शक्ति कम भएको अनुमान गर्न सकिन्छ। हियरिङ लस बढ्दो क्रममा छ। यसको मुख्य कारण ६१ हियरिङ लसको समस्यालाई उपचार गर्न सकिन्छ तर त्यसतर्फ ध्यान दिइएको छैन । मे ३ मा मनाउने हियरिङ डेको थिम ‘चेक योर हियरिङ’ अर्थात् ‘आफ्नो सुनुवाइ जाँच गर’ रहेको छ।

हियरिङ लस के हो
सुन्ने शक्तिमा कमी आउन थाल्यो वा सामान्यभन्दा कम सुनिन थाल्यो भने त्यसलाई हियरिङ लस भनिन्छ। २० देखि ३५ डिसेबल हियरिङभन्दा कम भयो भने सुन्नमा कमी आउँछ।

हियरिङ लस तीन प्रकारका हुन्छन्
कन्डक्टिभ हियरिङ लस : विभिन्न संक्रमणले कानको जाली प्वाल पर्छ। कानका मुख्य तीन भाग हुन्छन्, बाह्य, मध्य र भित्री कान। बाहिरी कान र मध्य कानमा समस्या आयो भने कन्डक्टिभ हियरिङ लस भनिन्छ। यसमा साउन्ड आउँछ तर भित्रसम्म पुग्न नसक्ने वा कम पुग्ने हुन्छ।

सिनसियरन्युरल हियरिङ लस : भित्री कानको नशा विभिन्न कारणले गर्दा बिग्रने र सुक्ने गर्छ। भित्री कानमा इन्फेक्सन भएर सुन्ने नशाहरुलाई नै कमजोर गरिदिन्छ।

दुवै कारण : कन्डक्टिभ कारण र नसा सुक्ने कारणले गर्दा हाम्रो कानको हियरिङ लस हुन्छ।

हियरिङ लस हुने कारण
इन्फेक्सन : भाइरल इन्फेक्सन, जस्तैः दादुरा, ठेउला भएर, चोटपटक लागेर नशालाई असर गर्दा हियरिङ लस हुन्छ।

जन्मजात हुने समस्या : मध्य कानमा तीन वटा हाड हुन्छन्। इन्फेक्सनको कारणले वा वंशाणुगत कारणले गर्दा हाड एकै ठाउँमा गुजुल्टो पर्ने गर्दछन्। आमाबुबामा हियरिङ लस छ भने बच्चामा जन्मजात नै हियरिङ लस हुन्छ। बढ्दो उमेरले पनि सुन्न सक्ने नशा सुकेर हियरिङ लस हुन्छ।

कस्तो मानिसको हियरिङ लस हुने सम्भावना हुन्छ?
डब्लुएचओका अनुसार यदि बच्चाको जन्मँदा तौल कम छ, समय नपुगी जन्मिएको छ, गर्भावस्थामा आमालाई कुनै इन्फेक्सन भएको छ र विभिन्न औषधि प्रयोग गरिएको छ भने बच्चाको हियरिङ जन्मजात नै कम हुने वा लस हुनेगर्छ। त्यसैले बच्चाको हियरिङ ठिक छ कि छैन भनेर बच्चा जन्मिनासाथ हियरिङको जाँच गर्नु पर्छ। ठिक छ भने वर्षैपिच्छे कानको जाँच गर्नुपर्छ।

बच्चा एक वर्ष भइसकेपछि बोल्छ कि बोल्दैन, आमाबुबाले ध्यान दिनुपर्छ। कुनै बेलामा बच्चाले कान नसुनेर बच्चामा भाषाको विकास नभएकोले पनि बोली नआएको हुनसक्छ। बच्चालाई पहिलो पटक स्कुल जानुभन्दा पहिला हेयरिङ पावर कस्तो छ, टेस्ट गर्नुपर्छ।

चर्को आवाज आउने ठाउँमा काम गर्ने व्यक्तिहरु, जस्तैः कारखाना, संगीत, धेरै सवारीको चाप हुने ठाउँ, ट्राफिक प्रहरी, एयर फोन लगाएर चर्को स्वरमा घन्टौं सुन्ने, एयरपोर्टका कर्मचारीहरुलाई हियरिङ लस हुने सम्भावना बढी हुन्छ।

लामो समयसम्म चर्को आवाजमा काम गर्नेले वर्षैपिच्छे जाँच गरेन भने कानको सुन्ने नशालाई कामै नलाग्ने गरी ड्यामेज हुन्छ। सुरुकै अवस्थामा हियरिङ लसको उपचार गर्न सकिन्छ। तर पछि नशा सुकेर हियरिङ लस भयो भने उपचारपछि पनि हियरिङ पावर फर्काउन सकिँदैन।

६० वर्ष पुगिसकेका व्यक्तिमा पनि हियरिङ लस हुँदै जान्छ। यस्तो अवस्थामा नशा कमजोर हुनुका साथै कान कराउन थाल्छ। मधुमेह, प्रेसर भएका मानिसमा पनि नशा सुकेर र नशा कमजोर भएर हियरिङ लस हुने हुन्छ।

हियरिङ लसले पार्ने असर

हियरिङ लस भएपछि अरुका कुरा सुन्न र उत्तर दिन सकिँदैन, त्यसैले समाजसँग अलग बस्न रुचाउने, हिनताबोध गर्ने, एकल महसुस गर्ने हुन्छ। त्यही कारणले मानिस डिप्रेसनमा पनि जानसक्छ। त्यसैले ६० वर्ष माथिका मानिसले कान चेक गराएर उपचार गर्ने र अलिकति हियरिङ बाँकी छ भने मेसिन लगाउनुपर्छ।

हियरिङ लस भएको कसरी थाहा पाउने ?
हियरिङ लस हुँदा खासै केही लक्षण देखिँदैनन्, त्यसैले आफूले प्रयोग गर्ने टेलिभिजन कति भोलुममा हेरेको छु त्यो ध्यान दिनुपर्छ। आफूले सधैं सुन्ने भोलुमभन्दा चर्को बनाउनुप¥यो वा भोलुम बढाउन प¥यो भने हियरिङ लस भयो कि भनेर शंका गर्नुपर्छ। त्यसपछि चिकित्सकको प्ररामर्श लिनुपर्छ।

उपचार
इन्फेक्सनको कारणले हुने हियरिङ लसलाई उपचार गर्न सकिन्छ। जस्तैः मध्य कानको इनफेक्सन, पानी जम्ने समस्या भयो भने औषधि खाँदा निको हुन्छ। कुनै बेला जाली प्वाल पर्नुका साथै मध्य कानको हड्डी खिइसकेको हुन्छ, यस्तो अवस्थामा अपरेसन गर्नुपर्ने हुन्छ।

भित्री कानमा नशा कमजोर वा नसा सुकेर हियरिङ लस भयो भने हियरिङ फर्काउन सकिँदैन। यदि सुरुको अवस्थामा थाहा पाइयो भने मात्र फर्काउन सकिन्छ। अलिकता हेयरिङ बाँकी छ भने कानमा यन्त्र लगाएर सुन्न सकिन्छ।
डा. प्रकाश काफ्लेबाट

प्रतिक्रिया दिनुहोस्