कृष्ण कँडेल, बागलुङ चैत्र ९
निसीखोला गाउँपालिकाको केन्द्र देविस्थानको जुग्गाखोलामा राख्न सवै वडाका राजनितिक दलका प्रतिनिधि सहमत भएका छन् ।
सवै वडाका राजनितिक दलका प्रतिनिधि, एकीकृत सेवा केन्द्र बुर्तिबाङका प्रमुख जनक थापा, गाउँपालिकाका निमित्त कार्यकारी अधिकृत दिपक शर्मा सहितको बैठकले निसीखोला गाउँपालिकाको वडा नम्बर–२ मा पर्ने जुग्जाखोलामा केन्द्र राख्ने लिखित सहमती भएको हो । नेपाल सरकारले राजपत्रमा प्रकाशन गर्दा गाउँपालिकाको केन्द्र वडा नम्बर–१ साविक देविस्थान गाविसको कार्यालय भएको स्थान रहने भनिएपछि निसी र बोहरागाउँका राजनितिक दलले आफुहरुलाई पायक नपर्ने भन्दै सच्याउन माग गर्दै आएका थिए ।
आजको सर्बदलिय बैठकमा देविस्थान र राजकुतका प्रतिनिधिले पुर्वसहमती अनुसार साबिक देविस्थान गाविसको उपयुक्त ठाउँमा सहमतीका अधारमा केन्द्र राख्न तयार भएका थिए । नेपाली कँग्रशका जिल्ला सदस्य राजकुतका प्रकाश कुँवरले गाउँपालिकाको केन्द्र देविस्थानको कुनै भुभागमा राख्न आफुहरु सहमत भएको प्रतिक्रिया दिनुभयो ।
नेपाली काँग्रश, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टिका प्रतिनिधि सहितको बैठकले देविस्थाको जुग्जाखोला वरपारको उपयुक्त ठाउँमा केन्द्र राख्ने निर्णय गरेको निमित्त कार्यकारी अधिकृत दिपक शर्माले जानकारी दिनुभयो ।
राजनितिक दलका प्रतिनिधि र गाउँपालिका कार्यालय सहितको संयुक्त टोलीले भोली स्थलगत अवलोकन गरि कार्यालय राख्ने स्थानको टुङ्गा लागाउने सहमती भएको छ ।
कार्यालय राख्ने स्थानको अन्तिम टुङ्गा भएपछि तत्काल गाउँपालिकाको कार्यालय सुभारम्भ गरिने माओवादी केन्द्र बोहरागाउँका उमानन्द रेग्मीले जानकारी दिनुभयो ।
यसअघि जिल्ला प्राबिधिक समितिले गरेको प्रश्ताबमो झिवाखोलामा केन्द्र रहने उल्लेख थियो । झिवाखोला केन्द्र राखिए देविस्थान र राजकुतलाई अपायक पर्ने भन्दै साबिक दुबै गाविसका अगुवाले झिवाखोला केन्द्र मान्न नसकिने भन्दै त्यतिबेलाको प्रश्ताबित ढोरपाटन नगरपालिकामा जाने अडान राखेका थिए ।
दुई गाविसको अडानपछि जुनसुकै अबस्थामा निसीखोला गाउँपालिका बनाउनुपर्ने भन्दै देविस्थानको खाडु केन्द्र राख्ने कुरामा निसी र बोहरागाउँका अगुवाले सहमती जनाएका थिए ।
स्थानिय तहको संख्या तथा सिमाना निर्धारण आयोगले सरकारलाई प्रतिबेदन बुझाएपछि राजपत्रमा प्रकाशित हुँदा अहिलेलाई गाउँपालिकाको केन्द्र साबिक देविस्थान गाविसको कार्यालय रहेको ठाउँ देविस्थान बजार रहने भएपछि बिरोध सुरु भएको थियो ।
संघिय मामिला तथा स्थानिय बिकास मन्त्रालयले तयार गरेको स्थानिय तहको कार्यान्वयका लागि जारी गरिएको आदेशमा स्थानिय तहको केन्द्र तोक्ने अधिकार स्थानिय सभालाई रहने उल्लेख गरिएको छ । स्थानिय निर्वाचनपछि बन्ने जनप्रतिनिधि रहेको गाउँसभाको बहुमतको निर्णयले केन्द्र तोक्नका लागि केन्द्रमा सिफारिस गर्न सक्ने र त्यो निर्णय राजपत्रमा प्रकाशन भएपछि लागु गर्न सकिने उल्लेख छ ।













































































































































































































