८ जेष्ठ २०८१, मंगलवार

 

बागलुङमा पनि विश्व क्षयरोग दिवस मनाईयो

नारायण रिजाल,
बागलुङ चैत्र ११ गते
क्षयरोग अन्त्यका लागि एक हौ भन्ने मुल नाराका साथ बागलुङमा पनि विश्व क्षयरोग दिवस मनाईएको छ । दिवसको अवसरमा बागलुङ कारागारमा रहेका बन्दीहरुको र बागलुङ नगरपालिका निर्णयघाटमा रहेको बृद्धाश्रममा रहेका जेष्ठ नागरिकहरुको निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको थियो । शिविरमा कारागारमा ७७ जनाको स्वास्थ्य परिक्षण तथा क्षयरोगका लागि खकार जाँच गरिएको थियो जस मध्ये ६६ जना पुरुष ११ जना महिलाको स्वास्थ्य परिक्षण गरिएको हो । जिल्ला स्वास्थ्य कार्यालयको आयोजना धौलागिरी अंचल अस्पतालको प्राविधिक सहयोगमा संचालित शिविरमा युआरएल ल्याब पोखराको पनि सहयोग रहेको थियो ।

त्यसै गरी निर्णयघाटमा रहेको बृद्धाश्रममा २४ जना जेष्ठ नागरिकको क्षयरोगको खकार तथा अन्य स्वास्थ्यपनि जाँच गरिएको थियो । कार्यक्रममा बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी धुव्र गिरीले क्षयरोग दिवसको अवसरमा स्वास्थ्य कार्यालयले गरेको काम निकै सराणिय रहेको बताउनुभयो । कार्यक्रममा धौलागिरी अंचल अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डाक्टर सागरकुमार राजभण्डारीले क्षयरोगको बारेमा जानकारी दिनुभएको थियो ।

बागलुङमा यो वर्ष एक सय ४ जना क्षयरोगका बिरामी फेला परेका छन । जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङक अनुसार आर्थिक बर्ष २०७३÷७४ को हालसम्ममा ७४ जना पुरुष र ३० जना महिला क्षयरोगका बिरामी रहेका छन । जिल्लाको दगान्तुडाडामा सबै भन्दा बढि १४ जनामा यो रोग देखिएको जिल्ला स्वास्थ्य कार्यालयका क्षयकुष्ठ सुपरभाईजनर देवप्रकाश घिमिरेले जानकारी दिए ।
जिल्लामा हाल ८ वटा क्षयरोग केन्द्र अन्र्तगत बाटाकाचौर, बुर्तिबाङ, कुश्मिसेरा, हरिचौर, बोहोरागाउँ, आरोग्य मेडिकल खरबाङ जिल्ला स्वास्थ्य कार्यालय र धौलागिरी अंचल अस्पतालमा क्षयरोगको खकार परिक्षण हुदै आएको छ । जिल्लामा सम्पुर्ण स्वास्थ्य सेवाबाट यस रोगको उपचारका लागि औसधी वितरण भै रहेको छ ।

बिगतको बर्षको तथ्याङ अनुसार जिल्लाका जलजला, दगान्तुडाडा, ग्वालीचौर,बुत्र्तिवाङ ,बोवाङ र दर्लिङलाई बढि क्षयरोगका बिरामी रहेका जिल्ला जनस्वास्थ्य कार्यालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक दिपकप्रसाद तिवारीले बताउनुभयो । नेपालको कुल जनसङख्या मध्य करिव ८० हजार व्यक्ति क्षयरोगबाट प्रभाववित रहेका छन । प्रत्येक बर्ष ४४ हजार नया बिरामी थपिने अनुमान गरिदै आइएको छ । पाच हजार देखि ७ हजार सम्म क्षयरोगको कारण मानिसको मृत्यु हुने गरेको तथ्याङकले देखाएको छ ।

शिविरमा मेडिकल सुपरिटेण्डेन्ट डाक्टर सागरकुमार राजभण्डारी, जनस्वास्थ्य निरिक्षक रामप्रसाद खनाल, ल्याब टेक्निसियन अनन्त न्यौपाने डिल्ली प्रसाद आचार्य, कृष्ण बहादुर भण्डारी लगायतका स्वास्थ्यकर्मिहरु स्वास्थ्य जाँच सक्रिय भुमिका निर्वाह गरेका थिए । कार्यक्रम तथ्याङक सहायक घनश्याम सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्