३ श्रावण २०८३, आईतवार

 

एकल साँझमा गुञ्जिय गायक राज सिग्देल

नेपाली गजल गायनमा आफ्नो पृथक पहिचान बनाएका गायक राज सिग्देल मंगलवार राजधानीमा गुन्जिए ।
स्तरीय गजल र आधुनिक गीत गायनको छवि बनाएका उनले एकल साझमा नेपाली तथा हिन्दी गजल, आधुनिक गीतसँगै केहि फिल्मका गीतहरू सुनाए ।

दोलखाको कालिका माविमा पुस्तकालय निर्माण र अक्षयकोष स्थापनाको लागि उर्वरा फाउन्डेसन नेपालले गायक सिग्देलको एकल साँझ आयोजना गरेको थियो ।

राजले आँखैमा राखँे तुवाँलो बन्यौ, दिलैमा सारँे भूइँचालो बन्यौ, सुन्नेलाई सुनको माला, नजर दामी हजुरको, आँखैमा कुनै सपना छैन, अमृत भनि विष पिलायौ जस्ता गीत त्यहाँ सुनाए ।

उनले आफुलाई मन पर्ने गायक, गायिकहरूमध्ये फत्तेमान राजभण्डारीको बनै खायो डढेलोले, तारादेवीको सोचे जस्तो हुन्न जीवन र हरि प्रसाद रिमालको फगत एक नजरमा सुनाए । गायिका राधिका भण्डारीसँग राजले गहिरो–गहिरो सागर जस्तै गीत गाउदा दर्शकले खुब मन पारे ।

राजको चर्चित गीत ‘उ जितेर गई या हारेर गई, नतिजा आफै तिर पारेर गई’ गितलाई जति चोट दिन्छौं देउ मायालु र गुलाम अलिको प्रसिद्ध गजल चुप्के चुप्के रात दिन आँसु बहाना याद हे गीतसंग मिक्स गरेर प्रस्तुत गर्दा दर्शकहरूले खुब रूचाएका थिए ।

कार्यक्रममा राजले आफ्ना प्रेरक दाई शालिकरामलाई समेत सम्झेर भावुक हुँदै भने, ‘संगीत क्षेत्रमा शालिकराम दाइले प्रेरणा र उत्साह नर्भनु भएको भए आज म गायक राज हुने थिईन, उहाँले नै शिवराजबाट मलाई राज बनाउनु भयो ।’
उनले नजर दामी हजुरको गीत सुनाउँदा दर्शकले ‘वान्स मोर वान्स मोर’ भनिरहेका थिए । राम थापा अविरलको रचना र बसन्त थापाको संगीत रहेको उनको पहिलो तर निकै चर्चा कमाएको ‘यो माया हराएको सहर हो प्रिया’ सुनाए ।

त्यस्तै त्यहाँ उनले भारतीय गजल गायक हरिहरनको गजल हमने काटी है तेरी याद मे र उमेश लम्सालको शब्द र हरि लम्सालको संगित रहेको नजरमा तिम्रा हजार रहेछन लगायतका गीतहरू गाएर दर्शकहरूलाई भरपुर मनोरजन दिएका थिए ।

चण्डीप्रसाद काफ्लेको रचना र पुरुषत्तम ढुङ्गेलको संगीत रहेको ‘उ जितेर गई या हारेर गई नतिजा आफैतिर पारेर गई’ गजलबाट नेपाली सागितिक क्षेत्रमा स्तरीय गायकको परिचय कमाएका सिग्देललाई आफ्नो एकल साँझले निकै सन्तुष्टि दिएको बताए ।

नेपाली गीत संगितको बजारमा आफुले अझै धेरै मेहनत गर्न बाकी रहेको र नारायण गोपाल, फत्तेमान, तारादेवी, अम्बर गुरूङ लगाएतका स्थापित गायकहरूले छोडेर गएको स्वाभिमानी राम्रो गीत संगीतको परम्परालाई नयाँ ढंगले स्थापित गर्ने जिम्मेवारी पनि युवा गायकहरूमा आएको बताए ।

कार्यक्रममा उर्वरा फाउन्डेसन नेपालको अध्यक्ष देवकी अभिलाषीले धन्यवाद मन्तव्य राखेका थिए ।
हरि बस्ताकोटीको एकल रचना, चन्द्रप्रसाद काफ्ले तथा हरि लम्सालको संगीत र आफ्नो स्वरसँग अभिनय समेत रहेको तस्विर एल्बम छिट्टै बजारमा आउन लागेको उनले त्यहाँ बताए ।

तस्विर एल्बममा निकै मेहनत गरेका गित तथा गजल रहेको भन्दै संगीत अनुरागीबाट सकरात्मक प्रतिक्रियाको अपेक्षा रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung