३ जेष्ठ २०८२, शनिबार

 

दोहोरो गाडी चल्ने बन्दैछ, मल्म–पाण्डवखानी सडक

गलकोट नगरपालिकामा पर्ने मल्म–पाण्डवखानी सडक दोहोरो गाडी चल्ने गरि स्तरोन्नति गर्न थालिएको छ । डिभिजन सडक कार्यालय बागलुङले छुट्याएको ३३ लाख रुपैयाँले सडकको स्तरबृद्धिको काम सुरु भएको हो । यो सडक १३ बर्ष अघि खनिएको थियो ।

अहिलेसम्म हलुका सवारी एकातर्फि मात्रै चल्ने गरेका थिए । गलकोट वडा नम्बर–७ मा रहेको विष्णु निर्माण सेवा नामक निर्माण कम्पनीले सडकको काम गर्ने जिम्मा पाए अनुसार काम सुरु गरेको छ ।

अहिले आँगाखेतदेखि सप्ताहघाट सम्मको एक किलोमिटर ४ सय मिटर सडक चौडा गर्ने काम भईरहेको छ । सडक सात मिटर चौडा हुनेछ । अहिले सडकमा कटिङ, फिलिङ र साँघुरो ठाउँमा जाली भर्ने काम भईरहेको निर्माण कम्पनीका सञ्चालक कृष्ण अधिकारीले जानकारी दिए । सडकको काममा अहिले दैनिक दुई वटा स्काभेटर प्रयोगमा छन् ।

यसअघि सडक साँघुरो भएकाले एकतर्फी सवारी सञ्चालन हुने गरेकोमा चौडा भएपछि दोहोरो सवारी चल्ने मापदण्डको सडक हुने उपभोक्ता समितिले जनाएको छ ।

पहिलो चरणको काम असार मसान्त भित्रै सकिने छ । सडक निर्माण भएपछि अहिलेसम्म जीप, ट्याकटर, मोटरसाईकल र पिकअप मात्र गुडने गरेका थिए ।

सडक निर्माण भएपनि साँधुरो र खाल्डाखुल्डी हुँदा यात्रुलाई सास्ती हुने गरेको थियो । सडक फराकिलो भएपछि बस, ट्रक, ट्रिपर, ट्याक्सी, कार समेत सहजै गुड्ने गलकोट नगरपालिका वडा नम्बर–७ का अध्यक्ष टिका बहादुर थापाले बताए ।

सडकमा बस, ट्रक नचल्दा गाडी भाडा  बढि तिर्नुपर्ने, भनेको समयमा गाडी नपाउने र गाडी नै रिर्जव गर्नुपर्ने जस्ता समस्या झेल्नु परेकोमा अब यी समाधान हुने स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung