बुर्तिबाङ नयाँ शहर आयोजना नवनियुक्त अध्यक्ष मेशलाल शर्माले आयोजनामा भईरहेका कामलाई अघि बढाउँदै नयाँ काम तथा योजना अघि बढाउँदा सबैपक्षसँग सहकार्य गर्ने बताएका छन् ।
बुर्तिबाङ नयाँ शहर आयोजनाले बिहिबार गरेको विदाई तथा स्वागत कार्यक्रममा अध्यक्ष शर्माले भईरहेका कामलाई थप प्रभावकारी रुपमा अघि बढाउने प्रयास आफुले गर्ने बताए ।
अर्जुन सेरचन अध्यक्ष रहेको समितिको गत चैत्रमै कार्यकाल पुरा भएपछि जेठ १६ गते शहरि विकास मन्त्रालयबाट शर्मालाई अध्यक्ष चयन गरिएको थियो । नगरविकास समितिको कार्यकाल दुई बर्षको हुन्छ । नेपाल सरकारले मध्यपहाडि लोकमार्गमा विकास गर्न लागेका १० वटा नमुना शहर मध्ये बुर्तिबाङ पनि एउटा शहर हो । अध्यक्ष शर्मा सहित उनको कार्यसमितिका सदस्यलाई कार्यक्रममा स्वागत गरियो ।
आफ्नो कार्यकाल पुरा गरेका निवर्तमान अध्यक्ष अर्जुन सेरचन तथा उनको कार्यसमितिका सदस्यलाई विदाई गरिएको छ ।
नयाँ समितिको सदस्यमा नेपाली काँग्रेशका सालिकराम शर्मा सहित केयरसिंह गुरुङ, असोक बिक, बिनोद भण्डारी, नविन शेरचन, धनसरी कँडेल रहेका छन् ।
नेकपा एमालेका केशर छन्त्याल, नेकपा माओवादी केन्द्रका भिम गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टीका निमबहादुर भण्डारी सदस्य रहेका छन् । पदेन सदस्यमा एकिकृत सेवा केन्द्र बुर्तिबाङका प्रमुख जनक थापा, मालपोत कार्यलय बुर्तिबाङका प्रमुख नारायण घर्ती मगर, नापी कार्यालय बुर्तिबाङका प्रमुख प्रकाश घिमिरे लगायत रहेका छन् ।
निबर्तमान अध्यक्ष अर्जुन सेरचनले नयाँ शहर आयोजनाको कामलाई अघि बढाउन आफुले सक्दो पहल गरेको बताए । उनले आफ्नो कार्यकालमा सहयोग गर्ने राजनितिक दल तथा सरोकार भएका पक्षलाई पनि धन्यवाद दिए ।
सांसद् ज्ञानकुमारी छन्तयालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ढोरपाटन नगरपालीकाका प्रमुख देबकुमार नेपाली, वडा अध्यक्ष लगायत सरोकार भएका पक्षको समेत उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन बुर्तिबाङ नँया शहर आयोजनाका प्रमुख प्रबिणप्रताप अधिकारीले गरेका थिए ।

































































































































































































