नेपाली काँग्रेसका संस्थापक नेता तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोईरालाको ३५ औं स्मृति दिवस बागलुङमा पनि मनाईएको छ ।
उनको सम्झानामा बागलुङ नगरपालिका–१ मालढुंगा खुदुर्केमा रहेको वीपी वन बाटिकामा काँग्रेसका नेता कार्यकर्ताले बर, पिपल र स्वामीको विरुवा रोपेका छन् ।
यसअघि बाटिकामा रोपिएका विरुवामा गोडमेलसँगै नयाँ विरुवा रोपिएको नेपाली काँग्रेस बागलुङका सभापति दिपेन्द्रबहादुर थापाले बताए ।नेपाली काँग्रेस बागलुङका पुर्व पार्टी सभापति गोविन्द्रप्रसाद कंडेलले लप्सीको बिरुवा रोपेपछि अहिलेको अवस्थामा वीपीले देखाएको बाटोमा काँग्रेस हिड्न नसकेको बताए । उनले लोकतन्त्र तथा गणतन्त्र संस्थागत गर्न काग्रेस वीपीले देखाएको बाटो हिडनुपर्ने बताए ।
वि सं १९७१ भदौ २४ गते जन्मिएका बीपीको घाँटीको क्यान्सरका कारण २०३९ साल साउन ६ गते निधन भएको थियो । उनी नेपाली समाजमा राजनितिक चिन्तक तथा निष्ठावान नेताका रुपमा चिनिन्छन् ।
प्रथम जननिर्वाचित सरकारको प्रधानमन्त्रीका रुपमा उनले तत्काल सुधारका काम गरे । बीपीले नेपाली साहित्यमा फरक धारको मनोवैज्ञानिक मानविय संवेदनाहरुको उजागर गरेका हुन् । प्रजातन्त्रको लागि निरन्तर संघर्ष गर्ने योद्धाको रुपमा नेपाली समाजले वीपीलाई सम्झने गर्दछ ।
वरिष्ठ अधिवक्ता गणेशराज शर्मासँगको वार्तामा आधारित ‘आत्मवृत्तान्त’, सुन्दरीजल बन्दी गृहमा बस्दाको दैनिकीमा आधारित ‘जेल जर्नल’, ‘फेरी सुन्दरीजल’, मोदी आईन, दोषि चश्मा, हिटलर र यहुदी, नरेन्द्र दाई, सुम्नीमा, बाबु आमा र छोरा, तीन घुम्ती, आत्मकथा, श्वेत भैरवीले नेपालको तत्कालीन राजनीतिक अवस्थाको यथार्थ चित्रण गरेका छन् ।
त्यसैगरी दुई कथा सङ्ग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’, हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’ प्रकाशित छन् । उनका भारतीय पत्रकार भोला चतर्जीले सम्पादन गरेको वीपी कोेईरालाका अन्तबार्ताहरुको संगालो तथा पत्रकार जगत नेपालले लेखेको पहिलो संसद् बीपी–महेन्द्र टकराव लगायतका कृतीहरु प्रकाशित छन् ।
विसं २०१५ सालमा बीपी नेतृत्वको सरकारले बिर्ता उन्मूलन तथा भूमि सुधारका कार्यक्रम अगाडि बढाएका थिए । तत्कालिन अर्थमन्त्री सुवर्णसम्शेर राणाले पहिलो पटक सुधारका नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गरेका थिए ।
राजा महेन्द्रले भारतका तत्कालिन प्रधानमन्त्री जवाहारलाल नेहरुको सहमतीमा विसं २०१७ साल पुस १ गते जननिर्वाचित सरकारलाई भङ्ग गरी तरुण दलको कार्यक्रमबाट प्रधानमन्त्री लगायत नेता कार्यकर्तालाई बन्दी बनाएर निरंकुश पञ्चायती व्यवस्था लागु गरेका थिए ।
प्रजातान्त्रिक समाजवादका पक्षधर वीपी सधै ग्रामीण अर्थतन्त्रमुखी विकासका चिन्तक थिए । २०४६ सालको आन्दोलनपछि गिरीजाप्रसाद कोईरालाको नेतृत्वमा निर्वाचित सरकारले प्रजातान्त्रिक समाजवाद छोडेर उदार अर्थतन्त्रलाई अगाडी बढाएको थियो ।
तत्कालित अर्थमन्त्री रामशरण महतले सरकारको मातहतमा रहेका उद्योग कलकारखानालाई न्युन मुल्यमा बेचेर बीपीको समाजवाद उन्मूख नीति तथा कार्यक्रम छोडी खुल्ला बजारको नीति लिएका थिए । जसकारण धनी र गरीब तथा अवसर पाउने र नपाउनेको विचमा अहिले पनि ठुलो खाड छ ।
नेपाली काँग्रसले बीपीले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवाद र प्रजातन्त्रका मुलभुत सिद्धान्तबाट विचलित भएको र सहर र गाउँका गरीब किसान तथा मजदुरलाई विर्सेको काग्रेस सुभचिन्त र राजनितिक विश्लेषकहरुले चिन्त व्यक्त गर्ने गरेका छन् ।







































































































































































































