३ श्रावण २०८३, आईतवार

 

स्वस्थ जीवनका लागि सन्तुलित आहार, नियमित व्यायाम र सकारात्मक सोच आवश्यक : डा. अभिषेक बगाले

बागलुङ, असार ३ । गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको आयोजनामा बागलुङका क्रियाशील सञ्चारकर्मीहरूका लागि स्वास्थ्य प्रवर्द्धन सम्बन्धी सञ्चार तथा पैरवी कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा धौलागिरी आयुर्वेद अस्पतालका डा. अभिषेक बगालेले स्वस्थ जीवनशैली अपनाउनु नै दीर्घकालीन स्वास्थ्यको आधार भएको बताए।

उनले सन्तुलित खानपान, नियमित शारीरिक गतिविधि तथा सकारात्मक सोचलाई स्वस्थ जीवनको मुख्य सूत्रका रूपमा प्रस्तुत गर्दै दैनिक जीवनशैली सुधारका उपायहरूबारे जानकारी गराए।

डा. बगालेले अस्वस्थ खानपान र निष्क्रिय जीवनशैलीका कारण विभिन्न नसर्ने रोगहरू बढ्दै गएको उल्लेख गर्दै आहार व्यवस्थापन, नियमित व्यायाम तथा योग अभ्यासले शारीरिक र मानसिक स्वास्थ्यलाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले स्वास्थ्यसम्बन्धी सही सूचना प्रवाह र जनचेतना अभिवृद्धिमा सञ्चारकर्मीहरूको भूमिका महत्वपूर्ण रहेको पनि उल्लेख गरे।

त्यसैगरी कार्यक्रममा धौलागिरी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. किरण तिवारीले बागलुङमा स्वास्थ्य सेवाको पहुँच र गुणस्तरमा उल्लेखनीय सुधार भएको बताए। उनले विगतमा विशिष्टीकृत उपचारका लागि पोखरा र काठमाडौं धाउनुपर्ने अवस्था रहे पनि अहिले धेरै प्रकारका विशेषज्ञ स्वास्थ्य सेवाहरू बागलुङबाटै उपलब्ध भइरहेको जानकारी दिए।

स्त्री तथा प्रसूति सेवा, सर्पदंशका बिरामीको उपचार तथा एनआईसीयू सेवामा उल्लेखनीय काम भइरहेको, अस्पतालमा सिटी स्क्यानदेखि दूरबिन प्रविधिबाट शल्यक्रियासम्मका सेवा सञ्चालन भइरहेको उनको भनाइ थियो।

स्वास्थ्य सेवा विस्तारसँगै स्थानीय नागरिकले सहज, सुलभ र गुणस्तरीय उपचार पाउन थालेको उल्लेख गर्दै डा। तिवारीले स्वास्थ्य क्षेत्रको विकासमा सञ्चार माध्यमको सकारात्मक भूमिका आवश्यक रहेको बताए।

बुर्तिवाङ अस्पतालका प्रमुख डा. अभिनाष पोखरेलले ढोरपाटन क्षेत्रमा देखिएको दादुरा संक्रमण, यसको पहिचान तथा उपचार प्रक्रियाबारे जानकारी दिएका थिए।कार्यक्रममा गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालय, चिकित्सा सेवा महाशाखाका प्रमुख डा. रमेशकुमार केसीले स्वस्थ जीवनशैली, नसर्ने रोग तथा तिनको रोकथामका उपायबारे प्रशिक्षण दिएका थिए।

स्वास्थ्य प्रवर्द्धन, जनचेतना अभिवृद्धि तथा स्वास्थ्यसम्बन्धी सन्देशलाई प्रभावकारी रूपमा समुदायसम्म पुर्‍याउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा जिल्लाका विभिन्न सञ्चार माध्यममा आबद्ध सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung