प्रेस सेन्टर बागलुङले ‘कृष्ण सेन स्मृति अक्षय कोष’ स्थापना गरेको छ । प्रेस सेन्टर बागलुङका अध्यक्ष राम थापा अविरलको अध्यक्षतामा शनिवार बसेको बैठकले ५ लाखको अक्षयकोष स्थापना गर्ने निर्णय गरेको हो । कोषको व्याजबाट ‘कृष्ण सेन सिर्जनशिल पत्रकारिता पुरस्कार’, प्रेस सेन्टरको संस्थागत विकास तथा क्षमता अभिवृद्धिका लागि तालिम तथा गोष्ठी गरिने छ ।
‘संगठनको संस्थागत विकास र पत्रकार साथीहरुको क्षमता अभिवृद्धि गर्न सहयोग पुगोस् भनेर अक्षय कोष अभियान सुरु गरेका छौँ’, अध्यक्ष राम थापा अविरलले भने, ‘आजैको बैठकबाट ४५ हजार रुपैयाँ कोषमा जम्मा भएको छ, यसले हाम्रो संगठनलाई आर्थिक रुपमा बलियो बनाउनेछ ।’
कोषबाट प्राप्त हुने व्याजबाट प्रत्यक बर्ष एक जनालाई ‘कृष्ण सेन सिर्जनशिल पत्रकारिता पुरस्कार’ प्रदान गरिने छ । बैठकले ताराखोला, बुर्तिबाङ र बागलुङ बजारमा पत्रकारितासँग सम्बन्धित तालिम सञ्चालन गर्ने निर्णय गरेको सचिव खगेन्द्र विश्वकर्माले जानकारी दिए ।
‘आधारभुत पत्रकारिता तालिमसँगै विषयत तालिम समेत सञ्चा
लन गर्ने निर्णय भएको छ’, प्रेस सेन्टर बागलुङका सल्लाहकार मुकेशचन्द्र राजभण्डारीले भने, ‘भाषाशैली, पर्यटन, वन तथा वातावरण पत्रकारिता र फोटोग्राफी तालिम पनि गर्ने छौँ ।’
बैठकले सवै स्थानीय तहमा प्रेस सेन्टरको उपशाखा विस्तार गर्ने निर्णय गरेको छ । गलकोट, बुर्तिबाङ र ताराखोलामा भने यसअघि नै उपशाखा गठन गरिएको छ । बाँकी स्थानीय तहमा उपशाखा विस्तार गरिने उपाध्यक्ष कृष्ण कँडेलले जानकारी दिए । प्रेस सेन्टर जिल्ला शाखा र स्थानीय तहमा गठन उपशाखाको बैठक नियमित गर्ने निर्णय समेत भएको छ ।
अक्षयकोषका लागि बैठकबाटै ४५ हजार जुट्यो
‘कृष्ण सेन स्मृति अक्षय कोष’ स्थापना गर्ने निर्णय गरेकै बैठकबाट कोषका लागि ४५ हजार रुपैयाँ जुटेको छ । अक्षय कोषका लागि केन्द्रिय सदस्य कोपिला कंडेल, अध्यक्ष राम थापा अविरल, र पत्रकार सज्जनकुमार सिंहले १०/१० हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य दिवश खत्री, बागलुङ उद्योग बाणिज्य संघका सहकोषाध्यक्ष अर्जुन चोखाल र नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन प्रदेश नम्बर–४ का सदस्य राजबहादुर थापाले ५/५ हजार रुपैयाँ कोषका लागि सहयोग दिएका छन् ।
लेखक दिल निशानी मगर, श्रोतव्यक्ति बमबहादुर थापा, सल्लाहकार शिवशरण ज्ञवाली, उपाध्यक्ष कृष्ण कँडेल र सदस्य सुमित्रा सुनारले १/१ हजार रुपैयाँ कोषमा जम्मा गर्ने प्रतिबद्धता जनाए । प्रकाश थापाले ५ सय रुपैयाँ सहयोग गरे । अक्षयकोष अभियानलाई स्थानीय तह स्तरसम्म लैजाने प्रेस सेन्टरले जनाएको छ ।



















































































































































































































