पुल निर्माणको काम गर्ने क्रममा दुर्घटनामा परि ज्यान गुमाएका ताराखोलाका प्रेम दमाईको परिवारलाई राहत रकम प्रदान गरिएको छ । गौँदीखोलाको मोटरेवल पुलमा काम गर्दै आएका ताराखोला गाउँपालिका–५ का उनको जेठ १४ गते विद्युत सर्ट भई मुत्यु भएको थियो ।
गलकोट नगरपालिकाको हटिया र हरिचौरलाई जोड्ने गरी गौँदीखोलामा निर्माणको चरणमा रहेको मोटरेवल पुलमा उनले काम गर्थे । पुलको निर्माण कम्पनी र उनका परिवारविच राहात स्वरुप ६ लाख दिने सहमती अनुसारको रकम श्रीमती मिनालाई हस्तान्त्रण गरिएको हो ।
‘काम गर्ने क्रममा अचानक विद्युत सर्ट हुँदा भएको दुखद् दुर्घटनामा उनको ज्यान गयो’, निर्माण कम्पनी नयाँ बाटो जुम्ली आचार्य जेभीका प्रतिनिधि महेन्द्र घर्ती संगमले भने, ‘परिवारसँग भएको सम्झौता अनुसार हामीले ६ लाख दिएका छौँ ।’
कामदार विमाबाट १ लाख आउने भएपनि अहिले नै निष्चित नभएकाले अहिले पुरै ६ लाख रकम निर्माण कम्पनीले नै दिएको घर्तीले जानकारी दिए । कम्पनीको आन्तरिक प्रक्रिया पुरा गरेर राहत प्रदान गर्दा सहमतीको २१ दिनपछि परिवारको हातमा रकम पुगेको हो ।
‘छ लाखको २१ दिनको व्याज १२ हजार र उनले ३ दिन काम गरेको बाँकी ज्याला ३ हजार गरि जम्मा ६ लाख १५ हजार रुपैयाँ परिवारलाई दिएका छौँ’, घर्तीले भने, ‘विमाको १ लाख नआएपनि अहिलेलाई कम्पनीबाटै व्यवस्थापन गरेका छौँ ।’
राहत रकम ताराखोला गाउँपालिका वडा नम्बर–५ का अध्यक्ष रामबहादुर रोकाले मृतकका श्रीमती मनालाई हस्तान्त्रण गरे ।



















































































































































































































