९ कार्तिक २०८३, आईतवार

 

‘बागलुङ बजारको अस्तव्यस्त ट्राफिक, नियम पालना गर्ने/गराउने दुवै उदासिन’

- ‘ट्राफिक भन्छ जनशक्ति अभाव छ’, ‘सवैले नियम मान्नुको विकल्प छैन’

बागलुङ बजारको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । सवारी साधनको चाप धेरै छ । ट्राफिक निमयको पालना गर्ने गराउने दुवै पक्ष गम्भिर नहुँदा नियम उलङ्घनका घटना झन् बढेका छन् ।

नियम पालनामा यात्रु, सवारी चालक, व्यवसायी र ट्राफिक समेतको व्यवास्ताले दुर्घटनाको जोखिम बढेको हो । नियमको पालना नगरेर मानिस आँफैले जोखिम निम्त्याईरहेको बजारका स्थानीय जयन्द्र शर्माले बताए ।

‘ट्राफिक प्रहरीले नियम पालनामा कडाई गर्दैन’, शर्माले भने, ‘चालकले नियम मिचेर गाडी चलाउँछन्, बजारबाट गाउँतिर जाने गाडीले अट्ने भन्दा धेरै यात्रु बोक्छन् ।’ उनले सामान बोक्ने पिकप र ट्याक्टरले समेत यात्रु कोचेर हिँड्दा दुर्घटनाको जोखिम बढेको बताए ।

बजार क्षेत्रमा पार्किङ स्थल नहुँदा बस, ट्रक, जीप, ट्याक्टर जथाभावि रोकेर राख्ने गरिएको छ । जहाँ पायो त्यहीँ रोकेर यात्रु झार्ने र चढाउने गर्दा व्यस्त चोक र साँधुरा सडकमा ट्राफिक जाम हुने गरेको छ ।

‘नियमको पालनामा खास ध्यान कसैको देखिन्न’, नागरिक समाज बागलुङका अध्यक्ष काजिगाउँले श्रेष्ठले भने, ‘अर्को पक्षलाई दोष दिएर हुँदैन, नियमको पालना गराउने ट्राफिक प्रहरी, व्यवसायी, चालक, यात्रु, नगरपालिका र बजारबासी समेत गम्भीर बन्नुपर्छ ।’

सवारी चालकले मनपरी भाडा असुल्ने गुनासो यात्रुबाट आईरहन्छ । यो समस्या ग्रामीण रुटमा बढी छ । ट्राफिक चेतनाको कमी र नियम पालनामा समेत हुने बेवास्ताका कारण पैदलयात्रुले जथाभावी बाटोकाट्ने समस्या धेरै छ । सवारी साधनले बजार अस्तव्यस्त भएपछि पैदल हिड्ने सर्वसाधारण मारमा परेका छन् ।

‘ट्राफिक चेतना सम्बन्धी कार्यक्रम पनि हुन्छन्’, उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्रकुमार श्रष्ठले भने, ‘सरोकार पक्षले नियम पालना नगरेका कारण दिगो व्यवस्थापन हुन सकेको छैन ।’ सवैले नियम पालना गर्नुको विकल्प नभएको उनको भनाई छ ।

मनपरि तिब्र गतिमा सवारी चलाउने, सिट क्षमता भन्दा बढि यात्रु यात्रु चढाउने, सवारी चालक अनुमति नलिएकाले सवारी चलाउने, इजाजत नलिएका सवारी सन्चालन गर्ने जस्ता लापरवाहिले ट्राफिकको व्यवस्थानमा झनै चुनौती थपिएको छ ।

पैदल यात्रुलाई जोखिम
बजार भित्रका सडकमा निमार्ण सामाग्री जथाभावी थुपारेर राख्दा सवारी साधन र पैदल हिड्नेले समेत सास्ती भोग्नुपर्छ । व्यवसायीले सडक पेटी नै छोपिने गरि निर्माण सामग्री र विक्री वितरणका सामान राख्ने गरेका छन् । ट्राफिक चोकदेखि समिक्षालय चोक वरिपरिको सडक पेटीमा प्रशासनले नै नियम मिचेर रुख रोपेको छ ।

नियम मिचेर सडक पेटीमा रुख

सडकको मापदण्ड र भवन संहिता विपरित घर निर्माण हुँदा सडक साँधुरो भएको छ । यसले सडकमा हिड्ने पैदय यात्रु र साईकल यात्रु तथा बालबालिका समेत जोखिम मोलेर हिड्नुपर्ने बाध्यता छ ।

बजारमा भित्रिने ठुला मालवाहक ट्रकका लागि सामान झार्ने समय प्रहरी प्रशासन र व्यवसायीकै सहमतीमा तोकिए पनि त्यसको व्यवहारिक कार्यान्वय हुन सकेन । ठुला सवारीका लागि समान झार्ने समय विहान वेलुका मात्र तोकिएकोमा होलसेल व्यवसायीले यसको अवज्ञा गरेका छन् । गाउँ–गाउँमा जाने गाडी सम्बन्धीत होटेल अघि सडक नै अवरुद्ध हुने गरि रोकेर यात्रु चढाउने झार्ने गर्दा जामको समस्या बढेको छ ।

एकतर्फी नियम लागूभएको रुटमा दुईतर्फी नै चल्छन् सवारी
एकतर्फी सवारी चलाउने नियम बनाएर एकतर्फी चिह्न राखिको रुटमा समेत दोहोरो गाडी चल्ने गरेका छन् । बागलुङ नगर खानेपानी कार्यालयदेखि लालिगुराँस चोक हुँदै भुपिचोकसम्म र शिवधाराचोकदेखि बागलुङ नगरपालिका कार्यालयसम्मको रुटमा एकतर्फी सवारी सञ्चालनको नियम कार्यान्वयनमा छ । तर यी दुवै रुटमा अहिले दोहोरो नै सवारी चल्छन् । विद्यालयका गाडीका लागि छुट्टै वस स्टेशनको व्यवस्था गरे पनि जथाभावी रोक्ने गरिएको छ ।

दर्जन बढी जनशक्ति थप गर्नुपर्छ–ट्राफिक प्रहरी प्रमुख घर्ती
ट्राफिक प्रहरी कार्यालय बाागलुङले पुर्वाधार र सडक उही भएपनि सवारी साधनको आवतजावत संख्या बढेका कारण थप समस्या भएको बताएको छ । पार्किङ स्थलको व्यवस्थापन तत्काल गर्नुपर्ने आवश्यकता रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख छबबहादुर घर्तीले बताए ।

बागलुङका ट्राफिक प्रहरी प्रमुख छबबहादुर घर्ती

‘ट्राफिक व्यवस्थापनमा हामी जुटेकै छौँ’, घर्तीले भने, आवश्यकता अनुसार जनशक्ति नहुँदा चाहेजती काम गर्न सकिएको छैन ।’ उनले आवश्यकता अनुसारको जनशक्ति उपलब्ध गराईदिन माथिल्लो निकायमा माग गरेको बताए ।

अहिले बागलुङमा १२ जनाको मात्र जनशक्ति छ । थप एक दर्जन जनशक्ति नपुग भएको घर्तीले बताए । उनले २५ जना जनशक्ति चाहिने उल्लेख गरे । ट्राफिकको आफ्नै कार्यालय भवन समेत छैन ।

अक्षेते, मालढुङगा, हटिया, खरबाङ र बुर्तिबाङमा १/१ जना र बाँकी ७ जनाले जिल्ला कार्यालयबाट हुने सम्पुर्ण काम धान्नुपर्ने अवस्था छ ।
नियम उलङ्घन गर्नेलाई कारवाहीको संख्या अघिल्लो बर्ष भन्दा बढेको घर्तीले बताए । अघिल्लो बर्ष सवारी कारवाहिबाट २२ लाख ६८ हजार रुपैयाँ जरिवाना रकम उठेकोमा आर्थिक बर्ष ७३/७४ मा ५१ लाख १० हजार रुपैयाँ उठेको उनको भनाई छ ।

नियमको पालनामा सम्बन्धीत पक्ष जिम्मेवार नहुँदा समस्या बढेको जिल्ला प्रहरी कार्यालय बागलुङ प्रमुख प्रहरी उपरीक्षक चन्द्रकुबेर खापुङले बताए । उनले उचित पार्किङ स्थल नभएकाले थप चुनौती भएको उल्लेख गरे । नियम पालनामा कडाई गर्न आफुले समन्वय गर्ने प्रतिबद्धता खापुङले व्यक्त गरेका छन् ।

‘जनशक्ति अपुग भए स्थानीय प्रहरीको सहयोग लिएर काम गर्नुर्छ’–क्षेत्रीय ट्राफिक
पश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक अबदेश विष्टले ट्राफिक प्रहरीमा देशभर नै अवश्यकता अनुसार जनशक्ति नहुँदा अपुग भएको बताए ।

जनशक्ति कमिभएको अवस्थामा जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरि सहयोग लिएर काम गर्न सकिने उनले बताए । उनले अहिले स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएकाले ट्राफिक प्रहरीको सेवालाई थप प्रभावकारी बनाउन स्थानीय सरकारले पनि सहयोग गर्नुपर्ने बताए ।

‘ठुला बजारको ट्राफिक व्यवस्थापनमा हामीलाई नगरपालिकाको पनि सहयोग आवश्यक पर्छ’, डिएसपी बिष्टले भने, ‘स्थानीय सरकारमा जनताका प्रतिनिधि आउनुभएको छ, उहाँहरुसँग मिलेर ट्राफिकलाई थप सहज बनाउन हामी प्रतिबद्ध छौँ ।’

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung