
पुष्पलाल मध्यपहाडी लोकमार्गको गलकोट रिघामा सडक माथिबाट पहिरो खस्दा पहिरोसँगै एक ट्याक्सी पुरिएको छ । चालक घाईते भएका घटनास्थल पुगेका गलकोट नगरपालिका–११ का वडा अध्यक्ष डम्मर श्रीसले बताए ।
आफैले चलाईरहेको ध १ ज ६५७ नम्बरको ट्याक्सीसँगै पहिरोमा पुरिएका चालक २८ बर्षीय थमन परियार सिसा फोडेर निस्केका थिए । गलकोट नगरपालिका बामियाँका उनको टाउको, घुँडा र पिड्युँमा चोट लागेको छ ।
गलकोट नगरपालिका–११ काउछे भन्ने ठाउँमा सडक भन्दा १ सय ५० मिटर माथिबाट पहिरो खसेको हो । झण्डै १ सय मिटर सडक पहिरोले भासिएको छ । घटना स्थल साबिकको रिघा गाविस–६ मा पर्छ । घटना स्थलमा वडा अध्यक्षसँगै ईलाका प्रहरी कार्यालय गलकोट र प्रहरी चौकी खर्बाङको टोली पुगेको छ ।
उनलाई उद्धार गरेर उपचारको लागि हटिया पठाईएको प्रहरी चौकी खर्बाङका हवल्दार कमल भट्टराईले जानकारी दिए । सडकमा गुडिरहेको ट्याक्सि माथिबाट अचानक पहिरो झरेपछि ट्याक्सी पहिरोमै पुरिएर तल बगिरहेका बेला चालकले सिसा फोडेर निस्केका वडा अध्यक्ष श्रीसले जानकरी दिए ।
पहिरो झरेपछि मध्यपहाडी लोकमार्ग अवरुद्ध बनेको छ । बुर्तिबाङदेखि बागलुङ हुँदै काठमाण्डौसम्म आवतजावत गर्ने सवारी साधन र यात्रु सडकमै अलपत्र बनेका छन् ।