
पश्चिम बागलुङका पहिरो प्रभावित नागरिकलाई आर्थिक सहायत प्रदान गरिएको छ । साउन १९ गते राती र २० गते विहानको भिषण पहिरोमा पुरिएर त्यहाँका ६ जनाले ज्यान गुमाएका थिए । एकै घरका चार जनाको मृत्युले साबिकको देविस्थान गाविसको बाहुन गाउँ पुरै शोकमा डुवेको छ ।
जिल्ला प्रशासन कार्यालय बागलुङबाट प्राप्त सहयोग रकम मृतकका परिवार र घरविहिनलाई प्रदान गरिएको निसीखोला–२ का अध्यक्ष कुविर विश्वकर्माले जानकारी दिए ।
निसीखोला गाउँपालिका देविस्थानको बाहुनगाउँमा ज्यान गुमाएका मनीमान छन्त्याल, उनकी श्रीमती नन्दकली, छोरी गिता र बुहारी विन्दुको परिवारजनलाई ४ लाख रुपैयाँ प्रदान गरिएको हो । उनीहरुका आफन्त सीता छन्त्यालले यो सहायता रकम बुझेको निसीखोला गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले जानकारी दिए । घर क्षेती भएकालाई १० हजार रुपैयाँको दरले राहत रकम पनि प्रदान गरिएको छ ।
त्यस्तै निसीखोला–१ हुल्दी पहिरोमा ज्यान गुमाएकी खगीसरा सिंजालीका नाती गिरीबहादुर सिंजालीलाई पनि १ लाख रुपैयाँ दिईएको छ । उनलाई घर क्षेती भएकोमा १० हजार रुपैयाँ समेत प्रदान गरियो ।
प्रहरी मुचुल्काको आधारमा निसीखोला–२ का भुपाल छन्त्याल, प्रेम विक र वडा नमबर–३ का भद्रे कामि र जुना कामिको परीवारलाई १०/१० हजार रुपैयाका दरले राहत हस्तान्तरण गरिएको छ ।
गाउँपालिका अध्यक्ष तारानाथ पौडेल, एकीकृत सेवा केन्द्र प्रमुख जनक थापा, वडा अध्यक्ष, प्रहरी लगायतको उपस्थितीमा रकम प्रदान गरिएको हो ।