युनिक संचार सहकारी लिमिटेडद्वार प्रकाशित ढोरपाटन दैनिकको १४ औं वार्षिकोत्सव बिहिवार एक कार्यक्रमका विच मनाईएको छ ।
देशमा संकटकाल चलिरहेको समयमा बागलुङबाट प्रकाशन सुरु गरेको ढोरपाटन दैनिक डेढ दशकसम्म नियमित प्रकाशित हुँदै आएको स्थानीय क बर्गको पत्रिका हो ।

वार्षिकोत्सवको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका प्रमुख जनक पौडेलले संचारमाध्यमले सत्य लेख्ने साहस गरेर ईतिहासलाई सघाउनुपर्ने बताए ।
‘संचारमाध्यमले वास्तविक घटनालाई जनताको पक्षमा उजागर गर्नुपर्छ’ पौडेलले भने, ‘जसलाई समाजले पनि उचित मूल्यांकन गर्नेछ ।’ विसंगती विरुद्ध बोल्न सक्ने संचारमाध्यमको गरिमा बढ्ने उनले बताए ।
पौडेलले न्युनतम पारिश्रमिक दिने काममा पनि ढोरपाटनले अगुवाई गर्नुपर्ने उनको सुझाव समेत थियो ।

सहभागिले ढोरपाटन दैनिकले दिइरहेको पाठ्य सामाग्रीको कारण निरन्तर टिक्न सकेको धारणा पनि राखेका थिए ।
बर्षभरी नियमित विज्ञापन दिने धौलागिरी अञ्चल यातायात बस व्यवसायी समितिका अध्यक्ष कुमार खड्का, नियमित स्तम्भकार तिते करेलीका लेखक कृष्णराज शर्मा र महिला लेखक पर्वतकी सरस्वती शर्मा जिज्ञाशुलाई कार्यक्रममा सम्मान गरिएको थियो ।
उत्कृष्ठ कर्मचारीको रुपमा बजार प्रतिनिधि मनिषा शर्मालाई ७ हजार ५ सय रुपैयाँ नगद सहित पुरस्कृत गरियो ।
एमाले केन्द्रीय बैकल्पिक सदस्य गोविन्द नेपाली, बरिष्ठ अधिवक्ता कृष्णप्रसाद शर्मा निउरे, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिष, नागरिक समाजका संयोजक काजी गाउँले श्रेष्ठ, सम्मानितहरु सरस्वती शर्मा जिज्ञाशु र कृष्णराज शर्माले बोलेका थिए ।
सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत नेपाल पत्रकार महासंघ बागलुङको भवन निर्माणका लागि पत्रिकाले २१ हजार २ सय ५० रुपैयाँ नगद सहयोग दिएको छ । सम्पादक हरिनारायण गौतमले सहयोग रकमको चेक महासंघका अध्यक्ष दिल शिरिषलाई हस्तान्तरण गरे ।
साथै महासंघको भवन निर्माणका लागि बरिष्ठ अधिवक्ता कृष्णप्रसाद शर्मा निउरेले पनि १० हजार रुपैयाँ दिने घोषणा गरे ।
कार्यक्रम सम्पादक हरिनारायण गौतमको अध्यक्षता, कार्यकारी सम्पादक रामकृष्ण बोहोराको स्वागत र पत्रकार ताराप्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।



















































































































































































































