बागलुङका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापाले जिल्ला भित्रको शान्ति सुरक्षा आफ्नो पहिलो प्रथामिता रहेको बताएका छन् ।
जिल्ला प्रशासन कार्यालय बागलुङमा हाजिर भएको भोलिपल्ट पत्रकार भेटघाटको क्रममा थापाले शान्ति सुरक्षालाई चुस्त बनाउन आफु कुनै दवाव प्रभावमा नपरेर काम गर्ने बताए । ‘मेरो मुख्य काम जिल्लाको शान्ति सुरक्षालाई सहज बनाउने हो,’ थापाले भने, ‘कसैको दवाव प्रभावमा पर्ने कुरा आउँदैन, कुनै कम्परमाईज हुँदैन ।’
भदौ ८ गते बागलुङ सरुवा भएका थापा वुधबार जिप्रकामा हाजिर भएका थिए । उनलाई गृहमन्त्रालयले बर्दियाबाट बागलुङ सुरुवा गरेको हो । उनको घर भने अर्घाखाँची हो ।
यस अघि बागलुङको स्थानीय विकास अधिकारीको रुपमा काम गरिसकेका थापाले चिनेजानकै ठाउँमा आएको हुँदा काम गर्न सजिलो हुने बताए । उनले यसअघि दुईपटक बागलुङको स्थानीय विकास अधिकारी भएर काम गरेका थिए । उनी २०६६ चैत १५ गतेदेखि २०६८ साउन १२ सम्म र २०६८ पुस ३ गतेदेखि २०६९ बैसाख ५ गतेसम्म बागलुङको एलडियो थिए ।
सेवा प्रवाहलाई सरल र सहज बनाउँदै सुशासन कायम गर्ने, नियमित बजार अनुगमन र विकास निर्माणका कामलाई गति दिने कुरामा आफु लाग्ने थापाको प्रतिवद्धता छ । चाडपर्वका बेला सवारी साधनले मनपरी भाडा उठाउने गरेको पाईए कारवाही गर्ने उनले बताए । ‘यस्ता अनियमितता भएमा तपाईहरु (पत्रकार) ले पनि सूचना दिएर सहयोग गर्नसक्नु हुन्छ,’ थापाले भने, ‘कानुन कार्यान्वयन गराउन हामी प्रयत्नशिल रहन्छौँ ।’
बाढी पहिरो र विपत्मा परेका तथा विस्थापितलाई उचित राहत र पुनस्र्थापनाका लागि आफुले समन्वय गर्ने बताए । ‘निसी लगायतका ठाउँमा भएका घटना बारे मैले पनि सुनेको छु,’ उनले भने, ‘वस्ती नै जोखिममा परेर विस्थापित भएकालाई पुनस्र्थापनाका लागि उचित विकल्पको खोजि गर्नुपर्छ, त्यसमा मलाई आईडिया पनि छ, मैले स्थानीय स्तरदेखि केन्द्रसम्मै समन्वय गर्छु ।’ यसका लागि स्थानीय राजनीतिक दल र सम्बन्धित क्षेत्रका विज्ञको समेत सहयोग लिनुपर्ने उनको भनाई थियो ।
निसीखोला गाउँपालिका–१ हुल्दीमा बर्षौं पहिलेदेखिको पहिरोले स्थानीयले सास्ती खेप्दै आएका छन् । यो बषात्मा बस्ती नै छियाछिया पर्ने गरि पहिरो गएपछि साढे २ सय परिवार विस्थापित छन् । उनीहरु अहिले वस्तीमाथिको जंगलमा पाल हालेर वसेका छन् । हुल्दीमा कुनैपनि हालतमा वस्न नमिल्ने अवस्था रहेकाले उनीहरुले उचित स्थानमा पुनस्र्थापना गर्नुपर्ने माग गर्दै आएका छन् ।
आगामी मंसिरमा हुने चुनाव बारे निर्वाचन आचारसहिंता पालना सम्बन्धमा पत्रकारले राखेको जिज्ञाषाको जवाफमा प्रजिअ थापाले नियम कानुन पालनामा आफु सचेत रहेको बताए । ‘नियम, कानुन तथा आचारसहिंता कार्यान्वयनकै लागि बनाईएको हुन्छ,’ प्रजिअ थापाले प्रश्न गरे, ‘लागु नगर्ने भए कनुन बनाउनुको के अर्थ ? त्यसैले गम्भिर उलङ्घनका घटना भए नियम अनुसार नै कारवाही हुन्छ ।’



















































































































































































































