हुल्दीका पहिरो प्रभावितले डेलिकेशन समिति गठन गरेका छन् । बर्षौंपहिलेदेखि सालैपिच्छे पहिरोको चपेटामा पर्दै आएका उनीहरु यो बर्ष बस्ती नै छियाछिया परेपछि विस्थापित छन् ।
अहिले उनीहरु गाउँ माथि रहेको जंगल(लेक) मा पालमुनी वस्दै आएका छन् । उनीहरुले भेला मार्फत लालबहादुर सिंजालीको संयोजकत्वमा ११ सदस्यीय सर्वदलिय डेलिगेशन समिति गठन गरेका हुन् ।
‘साना ठुला पहिरोसँग पुरै जमिन नै धाँजा फाटेर बस्न मिल्ने अवस्था छैन,’ संयोजक सिंजालीले भने, ‘उचित ठाउँ खोजेर वस्ती स्थानान्तरण गर्नुको विकल्प छैन, यसैको लागि दवाव र समन्वय गर्न समिति बनाएका हौँ ।’
पहिरोले हुल्दी र आसपासका २८० घरपरिवार जोखिममा रहेको स्थानीयले बताएका छन् । हुल्दीका झण्डै एक सय परिवार अहिले पनि जंगलमै बस्न बाध्ये छन् ।
समितिले स्थानीय स्तरमा गाँउपालीकादेखि जिल्ला हुँदै केन्द्रसम्म डेलिकेशन जाने निर्णय गरेको छ । ‘हामी त सुकुम्बासी भएका छौँ, राज्यले विकल्प नदिए जंगलमा कष्टकर जीवन कतिन्जेल चल्छर ?,’ पीडा पोख्दै थपे, ‘हामीले थाहा पाउँदा ५०/६० बर्षदेखि प्रत्यक बर्ष जमिने बग्ने गरेको छ, यस्तो ठाउँमा कसरी बस्ने ?’
यसअघि वडा सदस्य हुमकुमारी मल्लको नेतृत्वमा बनेको डेलिकेशन समितिलाई प्रभावित १९० घरधुरीको भेलाबाट नयाँ नेतृत्व दिएर विस्तार गरिएको हो ।
समितिले समस्याको दिगो समाधानको लागि गाउँपालिका, राजनीतिक दल, जिल्ला समन्वय समिति, जिल्ला प्रसाशन हुँदै सुकुम्बासी आयोग तथा केन्द्रय सरकारसम्म पुग्ने जनाएको छ । पहिरोले घर पुरिएर हुल्दीमा एक जनाको ज्यान गएको थियो ।
सर्वदलिय डेलिकेशन समिति
संयोजक: लालबहादुर सिंजाली राष्ट्रिय जनमोर्चा
सदस्य: गिरबहादुर योगी नेपाली काग्रेश
सदस्य: थम्मनबहादुर मल्ल नेपाली काग्रेश
सदस्य: हुमबहादुर मल्ल नेपाली काग्रेश
सदस्य: पवनकुमार सिंजाली नेकपा एमाले
सदस्य: रेशम सिंजाली नेकपा एमाले
सदस्य: पुष्पकमल मगर नेकपा माओवादी केन्द्र
सदस्य: धनबहादुर रामजाली नेकपा माओवादी केन्द्र
सदस्य: संखलाल सिंजाली नेकपा माओवादी केन्द्र
सदस्य: यकबहादुर बुढा राष्ट्रिय जनमोर्चा
सदस्य: मुक्तसिंह ठकुरी राष्ट्रिय जनमोर्चा
पहिरोका कारण जमिन चिरा चिरा परेकाले घर तथा खेतबारीमा जान र वरपर हिडडुल गर्न समेत सकिने अवस्था नरहेको स्थानीय हुमकुमारी मल्लले जानकरी दिईन् ।
‘धेरै ठाउँमा बाँकी रहेको अन्न पात स्याहार्न र गाई वस्तुलाई घाँसपत गर्न जानपनि नसकिने अवस्था छ,’ वडा सदस्य समेत रहेकी मल्लले भनिन्, ‘सरकारी तहबाटै उपयुक्त ठाउँमा बस्ती सार्न ठोस योजना र पहल चाहिन्छ, हामीले हारगुहार गर्दा पनि सुनिवाई भएको छैन ।’
अभिभावकसँगै वालबालिका पनि लेकमा गएपछि स्थानीय रसानन्द प्रावि बन्द भएको छ । ‘दुईचार जना विद्यार्थी मात्र आउने गर्छन्,’ प्रधानाध्यपक बालिन्द्र मल्लले भने, ‘महिनादिन भईसक्यो विद्यार्थी आउन सकेका छैनन्, पहिलो परिक्षा लिईसक्नु पर्ने हुन पाएको छैन ।’
उनको अनुसार कक्षा ४, ५ का केहि बच्चाहरु विद्यालय आउने गरेपनि अधिकांश साना वालबालिका आउन नसक्दा पठन पाठन प्रभावित भएको छ ।
गाउँपालिका अध्यक्ष यसो भन्छन्
निसीखोला गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले प्रभावित नागरिकको तर्फबाट उपयुक्त ठाउँमा वस्ती सारिदिन आग्रह गर्दै गाउँपालिकामा निवेदन आएको बताए । ‘म आँफै गएर हेरेँ, घर नभत्किएपनि बस्न मिल्ने छैनन्,’ पौडेलले भने, ‘वस्ती सार्न पहिले उपयुक्त ठाउँको खोजी गर्नुपर्छ, कसरी दिगो समाधान गर्न सकिन्छ ? भनेर छलफल र समन्वय गर्दैछौँ ।’
उनले जिल्ला प्रसाशन, जिल्ला समन्वय समिति, भुसंरक्षण लगायत निकायसँग छलफल गरी निकासको खोजीका लागि आफु जिल्ला सदरमुकाम आएको बताए ।
बुझेर समाधानको पहल गर्छौं प्रजिअ थापा
प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापाले आफु भर्खरै बागलुङ आएकाले त्यहाँको समस्या बारे बुझेर समाधानको पहल गर्ने बताए । ‘स्थानीय प्रतिनिधि, राजनीतिक दल र सरोकारवालासँग बुझेर काम अगाडी बढाउनुपर्छ,’ प्रजिअ थापाले भने, ‘थप राहत र दिगो समाधानको लागि हामप् ध्यान केन्द्रीत गर्नेछौँ ।’



















































































































































































































