मध्यपहाडी लोकमार्ग अन्तर्गतको बुर्तिबाङ निसी सडक खण्डको विभिन्न स्थानमा पहिरो जादाँ यात्रुहरुले सास्ती खेप्नु परेको छ ।
लामो वर्षाको कारण सडकको माथिबाट र तल दुवैतिर पहिरो गएपछि बाटोको विभिन्न स्थानमा सवारी चल्न नमिल्ने भएको छ । सडक हिलाम्मे छ ।
निसी भल्कोटदेखि बुर्तिबाङ सम्म आउँदा विभिन्न स्थानमा गाडी फेरेर आउनु पर्ने बध्यता रहेको छ ।
बुर्तिबाङदेखि साबिक बोहरागाउँ गाविसको कानाबगर वरपरको १५ किमी र निसी आसपासको २५ किमी सडकको अधिकांश ठाउँ छिया छिया र हिलाम्मे छ ।
यात्रुले जुग्जाखोला र दुवाँखोरको बीचमा पर्ने स्याँला बगरमा ठूलो पहिरो गएको हुँदा त्यस स्थानबाट गाडी फेरेर यात्रा गरिरहेका छन् । यो सडक खण्ड हिलाम्मेहुँदा निसीखोला गाउँपालिकाको वडा नम्बर–३, ४, ५ र ६ का नागरिकले पैदल हिँड्दा समेत सास्ती खेप्नु परेको छ ।



















































































































































































































