११ कार्तिक २०८३, मंगलवार

 

पत्रकारको भवनलाई आदर्श सञ्चार सहकारीले दियो ५१ हजार 

  नेपाल पत्रकार महासंघ बागलुङ शाखाले निर्माण गर्न लागेको भवन निर्माणका लागि आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले ५१ हजार १ सय ११ रुपैया आर्थिक सहयोग गरेको छ ।

संस्थाको ११ औं वार्षिक साधारणसभाका अवसरमा सहयोग रकमको चेक कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा.युवराज खतिवडाले नेपाल पत्रकार महासंघका अध्यक्ष दिल शिरिषलाई हस्तान्तरण गरे ।   ‘हामी सबैको रहर नेपाल पत्रकार महासंघको घर’ भन्ने नाराका साथ महासंघले १ करोड ३० लाखको लागतमा निर्माण शुरु गरेको भवनका लागि सहकारीका तर्फबाट आर्थिक सहयोग गरिएको कोषाध्यक्ष अनन्तबहादुर खड्काले जानकारी दिए ।

सूचना तथा सञ्चार क्षेत्रको संस्थागत विकाससंगै आर्थिक विकास गर्ने लक्ष्यका साथ धौलागिरिको पहिलो सञ्चार सहकारीका रुपमा स्थापित आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले विगत ११ वर्षदेखि सञ्चार क्षेत्रमा काम गर्दै आएको छ । संस्थाले धौलागिरि जागरण दैनिक र अग्रसर साप्ताहिक पत्रिका प्रकाशनका साथै धौलागिरि टेलिभिजन सञ्चालनमा समेत साझेदारी गरेको छ ।

१ हजार १ सय २० जना शेयर सदस्य रहेको संस्थाले पत्रकार महासंघको भवन निर्माणका लागि साधारणसभाको अवसर पारेर चेक हस्तान्तरण गरेको हो ।   पत्रकारिता क्षेत्रलाई व्यवस्थित गर्न पत्रकार महासंघको सबलीकरण आवश्यक भएकाले सहयोग गरिएको संस्थाका सम्पादक रामबहादुर जिसीले बताए । ‘लामो प्रयासपछि पत्रकार महासंघको भवन बन्न लागेको छ,’ महासंघका पर्बअध्यक्ष समेत रहेका उनले भने,  ‘सबै मिलेर सम्पन्न गर्नु पर्छ, त्यसैले सहकारीबाट हामीले हातेमालो गर्न खोजेका हौँ ।’

आदर्श सञ्चार सहकारीले सञ्चारमाध्यमसंगै वचत तथा ऋणको कारोबार गर्नुका साथै अन्य सामाजिक क्षेत्रमा समेत क्रियाशिल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung