नेपाल पत्रकार महासंघ बागलुङ शाखाले अनियमितता बारे समाचार प्रकाशन भएपछि पत्रकार दिलिप पौडेल माथि मुद्धा दायर गर्नु नियोजित प्रयास भएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।
शाखाले सोमबार एक विज्ञाप्ति प्रकाशन गरि पुर्वउपाध्यक्ष तथा केन्द्रीय सभासद् पौडेले अनुसन्धानात्मक रिपोर्टीङ गरेपछि विकशित घटनाक्रम प्रति ध्यानाकर्षण गरेको हो ।
आयल निगमको जग्गा खरिद प्रकरणमा भएको अनियमितताको समाचार प्रकाशन भएपछि मुद्दा दायर गरिनु भ्रष्टाचारको खुलासा गर्ने कामलाई निरुत्साहित गर्ने र पत्रकारिता क्षेत्रमा त्रास सिर्जना गर्ने नियोजित प्रयास भएको विज्ञप्तीमा उल्लेख छ ।

‘सार्वभौम संसदका विभिन्न समितिहरूले अनुसन्धान गरी कारबाहीका लागि सिफारिस गरेको ‘नेपाल आयल निगमको जग्गा खरिद’ प्रकरणका विषयमा शाखाका निवर्तमान उपाध्यक्ष तथा वर्तमान केन्द्रिय सभासद दिलिप पौडेलले अनुसन्धानात्मक रिपोर्टिङ गरी समाचार प्रकाशित गरेपछि विकसित घटनाक्रम प्रति महासंघले ध्यानाकर्षण भएको जनाएको छ ।
समाचार प्रकाशन भएपछि निगमका प्रवन्धक गोपाल खड्काले नागरिक दैनिकमा कार्यरत पत्रकार पौडेल सहित प्रबन्ध निर्देशक विनोदराज ज्ञवाली, निर्देशक शोभा ज्ञवाली, प्रधान सम्पादक गुणराज लुइँटेललाई विपक्षी बनाई जनही २० करोड रुपैयाँका दरले क्षतिपूर्ति माग गरेर मुद्दा दायर गरेका छन् ।
‘एउटा नागरिकको अदालतमा जाने अधिकारको महासंघ सम्मान गर्दछ’, शाखा अध्यक्ष दिल शिरीष र सचिव राम थापा ‘अविरल’द्धारा जारी विज्ञप्तिमा भनिएको छ, ’तर, घटनाक्रम विश्लेषण गर्दा यो मुद्दा नियोजित रुपमा भ्रष्टाचारको खुलासा गर्ने कामलाई निरुत्साहित गर्ने, पत्रकारिता क्षेत्रमा त्रास सिर्जना गर्ने र सञ्चारमाध्यम तथा पत्रकारलाई क्षतिपूर्तिका नाममा आर्थिक क्षति पु¥याउने मनसायबाट प्रेरित रहेको देखिन्छ ।’
पेट्रोलियम पदार्थको एकाधिकार सहित व्यापार गरिरहेको नेपाल सरकारको आधिकारिक वितरक निगममा जग्गा खरिद, पेट्रोलियम पदार्थ भण्डारण लगायत विषयमा भइरहेको संस्थागत अनियमिततताबारे नागरिक दैनिकले गरिरहेको खोज र समाचारमा यो मुद्दाले कुनै पनि किसिमको प्रभाव पर्न नदिन शाखाले पत्रकार महासघंको केन्द्रिय समिति लगायत सम्वन्धित सबै पक्षसँग आग्रह समेत गरेको छ ।
सम्मानित अदालतमा दर्ता भएको मुद्दाका बारेमा नेपालको प्रचलित कानुन, प्रेस स्वतन्त्रताको विश्वव्यापी मान्यता र खोजी पत्रकारिताको मान्यतालाई सुरक्षित गर्ने गरी अदालतले फैसला गर्नेमा महासंघ बिश्वस्त रहेको बिज्ञप्तीमा उल्लेख छ । प्रेस स्वतन्त्रता, पत्रकार आचारसंहिता र नेपाली पत्रकारिताको मौलिक चरित्रको जगमा उभिएर निर्भिकतापूर्वक खोजि पत्रकारितामा दृढतापूर्वक लागि रहन सबै पत्रकारहरुलाई महासंघले आव्हान गरेको छ ।
गाली बेइज्जती ऐन २०१६ मा पदीय दुरुपयोग रोक्न सार्वजनिक हितका लागि समाचार प्रकाशित गर्दा गाली बेइज्जती ऐन आकर्षिन नहुने र त्यति ठूलो क्षतिपूर्ति माग दावी गर्न नसकिने ब्यवस्था रहेको कानुनविद्हरूले बताउँदै आएका छन् ।



















































































































































































































