
गलकोट नगर विकास समितिको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नेता चन्द्रदत्त रेग्मी नियुक्त भएका छन् । नेपाल सरकार शहरी विकास मन्त्री स्तरीय निर्णयबाट उनी आगमी २ बर्षका लागि नगरविकास समिति अध्यक्षमा नियुक्त भएका हुन् ।
भदौ २ गतेको निर्णय अनुसार रेग्मीलाई अध्यक्षमा मनोनयन गरिएको चिठी उनको नाममा प्राप्त भएको छ । उनलाई गलकोट नगरविकास समितिको अध्यक्षमा मनोनित गरेको चिठी मन्त्रालय अन्तरगतको नगरविकास समिति तथा साना शहर शाखाले भदौ ७ गतेको मिति राखेर काटेको छ ।
नगरविकास समिति अध्यक्षमा शहरी विकास मन्त्रीले आफ्नो पार्टीका स्थानीय नेतालाई नियुक्ति गर्ने अभ्यास रहँदै आएको छ । माओवादी केन्द्रबाट शहरी विकास मन्त्री बनेका प्रभु शाहले उनलाई अध्यक्ष मनोनित गरेका हुन् ।
रेग्मीको नाममा पठाईएको चिठीमा भनिएको छ, ‘नेपाल सरकार मन्त्रीस्तरको मिति २०७४ भन्दौ २ गतेको निर्णय अनुसार तपाईलाई गलकोट नगरविकास समिति बागलुङको अध्यक्ष पदमा बढीमा २ बर्षको लागि मनोनित गरिएको व्यहोरा अनुरोध छ ।’ उनी गलकोट नगरविकास समितिको पाँचौ अध्यक्ष भएका हुन् ।
गलकोट नगरविकास समितिमा यस अघि नेपाली काग्रसका नेता नारायणध्वज मल्ल अध्यक्ष थिए । उनको कर्यकाल गत साउनमा पुरा भएको थियो । मल्ल काँगे्रस नेता नारायण खड्का शहरी विकास मन्त्री हुँदा मनोनित भएका थिए ।
अहिलेसम्म गलकोट नगरविकास समितिमा माओवादी केन्दबाट तीन पटक र काँग्रेसबाट दुईपटक अध्यक्ष भएका छन् । प्रस्तावित गलकोट नगरविकास समितिको अध्यक्षमा पनि तत्कालिन नेकपा माओवादी (अहिले माओवादी केन्द्र) का भिमबहादुर बस्नेत अध्यक्ष बनेका थिए । हरिचौरका उनको यसअघि नै निधन भईसकेको छ ।
अहिलेसम्मका अध्यक्ष
१.प्रश्तावित गलकोट नगरविकास समिति अध्यक्ष भिमबहादुर बस्नेत (तत्कालिन नेकपा माओवादी), हरिचौर
२. गलकोट नगरविकास समितिका पहिलो अध्यक्ष पुर्णबहादुर रानामगर (तत्कालिन नेकपा माओवादी/अहिले माओवादी केन्द्र), हरिचौर
३. गलकोट नगरविकास समिति दोस्रो अध्यक्ष सुरेन्द्रबम मल्ल (नेपाली काँग्रस), हरिचौर
४. गलकोट नगरविकास समिति तेस्रो अध्यक्ष गुमानसिंह बुढाथोकी (नेकपा माओवादी केन्द्र), दुदिलाभाटी
५. गलकोट नगरविकास समिति चौथो अध्यक्ष नारायणध्वज मल्ल(नेपाली काग्रेस), हरिचौर
६. गलकोट नगरविकास समिति पाँचौ अध्यक्ष चन्द्रदत्त रेग्मी (नेकपा माओवादी केन्द्र), नरेठाँटी
को हुन् चन्द्रदत्त रेग्मी ?
गलकोट नगरविकास समितिको अध्यक्षमा मानोनित भएका चन्द्रदत्त रेग्मी गलकोट नगरपालिका वडा नम्बर–२ नरेठाँटीका बासिन्दा हुन् । उनी शिक्षक पेशा छाडेर स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्षको चुनाब लडेका थिए । रेग्मीलाई पराजित गर्दै काँग्रेसका हिमबहादुर भण्डारी वडा अध्यक्ष निर्वाचित भएका थिए ।
वडा अध्यक्षको चुनाव अघि उनले नरेठाँटीको महेन्द्र माविका शिक्षक थिए । उनी माओवादी निकट शिक्षक संगठनमा सक्रिय थिए । माओवादी फुट्दा उनी मोहन बैद्य ‘किरण’ तिर लागेका थिए । पछि रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा एकता हुँदा उनी फेरी माओवादी केन्द्र फर्किएका नेता हुन् । उनी अहिले नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आयोजक समिति सदस्य छन् । रेग्मी आफ्नो भनाई स्पष्ट राख्ने खरो स्वभाव भएका नेता मानिन्छन् ।