११ कार्तिक २०८३, मंगलवार

 

कस्ले सुन्ने हुल्दीवासीको पीडा ? सरकारी निकाय भन्छ ‘प्रविधिक अध्ययन अझै बाँकी छ’

भिषण पहिरोले विस्थापित भएर लेकमा वस्दै आएका हुल्दीवासी पहिरोको त्रासबीच बचेको खेतीपाती स्याहार्न गाउँ फर्केका छन् । गत साउन १९ गतेको अबिरल बर्षाले सिङ्गो गाउँ नै छियाछिया हुने गरि साना ठुला दर्जनौँ पहिरोले उठीवास गरेपछि दह लेकमा बस्ने गरेका थिए । पहिरोले एक महिलाको ज्यान गएको थियो । हुल्दी र आसपासका झण्डै ३ सय घरधुरी विस्थापित छन् ।

पहिरोबाट बचेको मकै, सिमी जस्ता अन्न बाली स्याहार्न आफुहरु गाउँ फर्किएको स्थानीय पवन सिङ्जालीले जानकारी दिए । ‘पहिरोले बस्ती नै उठायो, अन्नवाली पनि बगाएको छ, घरसमेत बस्न मिल्ने अवस्थामा छैनन्,’ उनले दुखि हुँदै भने, ‘कसैकसैको बारीमा अलिअलि मकै छ, त्यही भएपनि भित्राउँ भनेर गाउँ झरेका छौँ ।’
उनले अहिले पनि गाउँमा बस्नसक्ने अवस्था नरहेको बताए । ‘कतिपय त अहिले पनि लेकमै पाल मुनि बसेका छन्,’ उनले अगाडी थपे, ‘जस्को बारीमा केहि भएपनि अन्न बचेको छ, उनीहरु आएका छन् ।’

गाउँ झरेकाहरु कम क्षेती भएको अवस्थामा रहेका घरमा जम्मा भएर बस्ने गरेका छन् । पानी परेपछि थप पहिरो बग्ने त्रासले उनीहरु जाग्रम बस्ने गरेका छन् । ‘मान्छे हिँड्ने सामान्य बाटो समेत छैन, सक्ने ठाउँमा सवै मिलेर पहिरो पन्छाएर घर र बारीसम्म पुग्ने गरेका छौँ,’ सिंजालीले दुख बताउँदै भने, ‘हाम्रो यस्तो विजोग हुँदापनि सरकार कहाँ छ, हामीलाई राज्य छ भन्ने अनुभुती समेत हुँदैन् ।’ अझै पहिरो झर्ने क्रम नरोकिएकाले भागाभाग समेत हुने गरेको पीडिले बताएका छन् ।

हुल्दीमा विगत ५०/६० बर्षदेखि नियमित पहिरो झर्दैै आएको छ । उनीहरुले उपयुक्त ठाउँमा पुनर्वासको व्यवस्था गरिदिन गाउँपालिका तथा जिल्ला स्तरिय कार्यालय र केन्द्रीय सरकारलाई अनुरोध गरेका छन् ।

केन्द्रको सहयोग विना स्थानीय स्तरमा मात्र केहि गर्न सक्ने अस्था छैन–पौडेल
निसीखोला गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले हुल्दीको घटना र समस्या बारे यथार्थ प्रतिवेदन बनाएर केन्द्रसम्म पु¥याएको बताए । ‘यहाँको बास्तविक अवस्था, क्षेती भएका घर, विस्तापित घरधुरी र खेतबारी भत्किएको विवरण समेत हामीले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र जिल्ला स्तरमा समेत बुझाएका छौँ,’ उनले भने, ‘जिल्ला र केन्द्र स्तरबाट हामीलाई यो सहयोग चाहिन्छ, गाउँपालिकाले मात्र केहि गर्न सक्ने अवस्था छैन ।’

प्राविधिक अध्ययन हुनै बाँकी छ–प्रजिअ थापा
बागलुङका प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापाले हुल्दीको यर्थाथ अवस्थाको अध्ययन गरेर प्रतिवेदन ल्याउन जलोत्पन्न प्रकोप नियन्त्रण कार्यालय बागलुङलाई निर्देशन दिएको बताए । उनले प्राविधिक टोली पुगेर स्थालगत अध्ययन गरि प्रतिवेदन प्राप्त भएपछि दैवि प्रकोप उद्दार समितिको बैठकमा कसरी समस्या समाधान गर्ने भन्ने बारे छलफल हुने बताए ।
थापाले पहिरोपछि त्यहाँको बास्तविक अवस्था र कसरी समस्या समाधन गर्न सकिन्छ भन्ने बारे प्राविधिक अध्ययन भई नसकेको बताए ।
प्राविधिक अध्ययनको प्रतिवेदन आएपछि जिल्लाबाट गर्न सकिने थप काम र केन्द्रका सम्बन्धित निकायमा सिफारिस गरिने उनको भनाई छ ।

कहिले हुन्छ प्राविधिक अध्ययन ?
भिषण पहिरोले विस्थापित नागरिक पालमुनी कष्टकर जीवन विताएको एक महिना हुँदासम्म पनि सरकारी निकायबाट समस्याको बास्तविकता बारेको प्राबिधिक अध्ययन प्रतिवेदन नबनेको सरकारी अधिकारी बताउँछन् ।

गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले स्थानीय रुपमा प्राविधिक नभएका कारण अध्ययनको कार्य नएको बताए । प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापाले आफु भर्खर जिल्ला आएकाले जिल्ला जलोत्पन्न प्रकोप नियन्त्रण कार्यालय मार्फत प्राविधिक टोली पठाएर अध्धयन गर्न निर्देशन दिएको बताए ।

बालबच्च बुढाबुढी महिनौँ पालमुनी रहेको अवस्थामा सरकारी निकायबाट समस्याको बास्तविकता पत्ता लगाउन प्राविधिक टोलीसम्म घटना स्थाल नपुग्नु विडम्बनाको कुरा हो । यसले पीडितलाई थप आक्रोशित बनाएको छ । यस तर्फ गाउँपालिका, जिल्ला प्रशासन कार्यालय, जलोत्पन्न प्रकोप नियन्त्रण कार्यालय, भुसंरक्षण कार्यालयको तत्काल ध्यान पुग्न जरुरी छ ।

यसअघि भएका अध्ययनले पनि हुल्दी सँधै पहिरोको जोखिममा रहेकाले त्यसको तत्काल दिगो समाधान खोज्न आवश्यक रहेको सुझाव दिँदै आएको निसीखोला गाउँपालिका–१ का वडा अध्यक्ष ईन्द्र मल्लले बताएका छन् । आधा दशक भन्दा अघिदेखि बर्षीनै लगातार पहिरो झरिरहनु र पहिलेका अध्ययनको सुझावलाई समेत मध्यनजर गर्दा समस्याको गहिरो अध्ययन र दिगो व्यवस्थापन यस अघि नै भएको भए अहिले हुल्दीवासीले यो कारुणिक पीडा झेल्नुपर्थेन । सम्बन्धित निकायको ध्यान खुलोस ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung