सेवा प्रदायक संस्थाका पदाधिकारीले चाडबाडका बेला उपभोक्ताको अहितमा कुनै पनि कार्य नगर्ने प्रतिवद्धता जनाएका छन् । वस्तु र सेवा प्रवाहलाई चुस्त बनाउँदै बजारलाई व्यवस्थित तुल्याउन उनीहरु सहमत बनेका छन् । जिल्ला प्रशासन कार्यालय बागलुङले बुधबार आयोजना गरेको उपभोक्ता हित, सचेतना र बजार व्यवस्थापन सम्बन्धी अन्तरक्रियामा विषयगत सरकारी कार्यालय, संघसंस्थाका प्रमुख, उद्योगी, व्यवसायी लगाएत सहभागी थिए ।
अन्तरक्रियामा बोल्ने सबैले चाडबाडमा उपभोग्य वस्तु तथा सेवालाई सुलभ मुल्यमा उपलब्ध गराउने बताएका छन् । बागलुङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष युवराज राजभण्डारीले चाडबाडमा सामानको अभाव हुन नदिने उल्लेख गरे । गुणस्तरीय र सस्तो दरमा वस्तु किनबेचको वातावरण बनाउन संघले पहल लिने उनको भनाइ छ । उनले म्याद गुज्रेका र कमसल सामान नबेच्न व्यवसायीहरुलाई समेत आग्रह गरे । धवालगिरि अञ्चल यातायात बस व्यवसायी सञ्चालक समितिका अध्यक्ष उमेश केसीले वर्षामा बिग्रेका सडक मर्मतसम्भार गर्न सम्बन्धित पक्षसँग आग्रह गरे ।
‘ग्रामिण भेगका सडक क्षतिविक्षत छन्, चाडबाडमा सहज यातायात चलाउन तत्काल सुधार हुन आवश्यक छ’ उनले भने । चाडबाडमा मनपरी भाडा लिने प्रवृत्तिलाई निरुत्साहित गर्दै यात्रुलाई सहज सेवा दिन यातायात व्यवसायीहरु तयार रहेको अध्यक्ष केसीले बताए । खुद्रा तथा किराना व्यवसायी संघका गणेश लम्सालले उपभोक्तालाई सुलभ दरमा खाद्यन्न लगाएतका उपभोग्य वस्तु उपलब्ध गराइने बतए । उनले केही वस्तुमा मुल्य वृद्धि भएको भन्दै व्यवसायीको समस्यालाई पनि बुझिदिन आग्रह गरे ।
चाडबाडमा बढी मुल्यमा सामान बेच्न खोज्ने व्यवसायीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उनको भनाइ छ । नेपाल टेलिकम, विद्युत जस्ता विषयगत कार्यालयका प्रमुखहरुले सेवा प्रवाहमा कुनै समस्या नरहेको बताएका थिए । टेलिकम बागलुङका कार्यालय प्रमुख केशव शर्माले चाडबाडमा नेटवर्कको कुनै समस्या नहुने बताए । मासु व्यवसायी, फेन्सी तथा कपडा व्यवसायी लगाएत वस्तुगत संघका पदाधिकारीले पनि बजार व्यवस्थापनमा सबै जिम्वेबार हुनुपर्ने बताएका थिए ।
अन्तरक्रिया कार्यक्रममा सहजीकरण गर्दै सहायक प्रमुख जिल्ला अधिकारी धुव्र गिरीले बजार अनुगमनलाई प्रभावकारी बनाइने बताए । उनले उद्योगी, व्यवसायी आफैले आफ्नो व्यवसायको स्वनियमन गर्नुपर्ने उल्लेख गरे । ‘सबैले उपभोक्ताको पक्षमा काम गरौं, बजारलाई व्यवस्थित बनाऔं’ उनले भने । अनुगमनमा कमजोरी भेटिए जो सुकै भएपनि कानुनी दायरामा ल्याइने उनको भनाइ छ । चाडबाडमा यातायात लगाएत अन्य वस्तु तथा सेवामा बढी मुल्य नलिन उहाँले व्यवसायीसँग आग्रह गरे
ग्रामिण भेगमा चल्ने यातायातका साधानमा नयाँ भाडादर कायम गरिएकाले त्यसलाई कार्यान्वयनमा ल्याउन व्यवसायीहरुलाई आग्रह गरे । कार्यक्रमका प्रमुख वक्ता प्रमुख जिल्ला अधिकारी बिष्णुबहादुर थापाले भएको स्रोतसाधनलाई अधिकतम उपयोग गरि अवस्थामा सुधार ल्याउनुपर्ने बताए । उनले समाजका सबै पक्षको सहयोगले मात्र बजारलाई व्यवस्थित गर्न सकिने उल्लेख गरे । सर्वसाधारण उपभोक्तालाई ठग्ने कामप्रति प्रशासनले कुनै सम्झौता नगर्ने भन्दै व्यवसायीहरुलाई सचेत हुन आग्रह गरे । प्रजिअ थापाले चाडबाडमा जिल्लाको सुरक्षा व्यवस्थालाई थप चुस्त बनाइने बताए ।







































































































































































































