बागलुङ नगरपालीका भित्रका सडक मर्मतमा नगरपालिकाले चासो नदीँदा नगरवासीले ठुलो सास्ती खेप्न वाध्य भएका छन् । बागलुङ वजारदेखी मालिका भान्सा, सिम, सिगाना, भकुण्डे, बलेवा अमलाचौर लगाएका क्षेत्रमा जाने सडक वर्षातको कारण नाजुक वनेका छन् ।
बागलुङ नगरपालिका र विश्व बैँकको सहकार्यमा थालिएको सडक स्तरबृद्धिको काम वर्षाैं वितेपनि पुर्णता पाउन सकेको छैन । बानपा–४ कुँडुलेदेखि ठुलास्वाँरा सम्मको १ किलोमिटर सडकमा स्थानीयसँग विवाद भएर सडक स्तरबृद्धिमा ढिलाई हुँदा नगरबासीले सास्ती झेल्न बाध्य भएका छन् । ठुलास्वाँरामा सडकमा गरिएको ग्राभेल समेत भत्किएपछि यात्रा कष्टप्रद र जोखिमयुक्त बनेपछि केही दीन पहिलेदेखी मर्मत गर्नुपर्ने माग भैरहेको छ ।
बागलुङ नगरपालिका–३ रातमाटा खोडालादेखि तीनतले जोड्ने सडक ढलानमा वजेट नपुगेर सडकले पुर्णता पाउन नसकेको जनाईएको छ । गत आर्थिक वर्षमा जिल्ला समन्वय समितिले विनियोजन गरेको १६ लाख वजेट वाट १ सय ६५ मिटर सडक ढलान गरिएपनि पुर्णता नपाउँदा यात्रामा समस्या भएको छ ।
बानपा–४ कुँडुले देखि ठुलास्वाँरासम्मको सडकमा अहिले स्तर वृद्धिको काम भैरहेकोले बागलुङ नगरपालिकाको वडा नम्वर–५, ६, ७ म्याग्दीको गौश्वराका स्थानीयलाई आवत जावतमा समस्या छ । सडक हिलाम्मे हँुदा स्थानियलाई सास्ती भएको छ ।
नगरपालीकाका बस्तीहरुलाई सदरमुकामसंग जोड्ने सडक बार्षातको कारण छिया–छिया भएका छन् । विभिन्न ठाउँमा आएको बाढी तथा सडकमा पानी जमेको कारण सडक जिर्ण भएका छन् ।
सडक नाजुक भएको कारण दैनिक उपभोग्य सामान, निर्माण सामाग्री ढुवानी हुन सकेको छैन् । सडकको कारण बिरामीलाई स्वास्थ्य संस्थासम्म ल्याउन समेत कठिनाई भएको छ । करोडौँ लगानी गरेर वर्षेनी सडक स्तरवृद्धी गरीएपनि वजेट वालुवामा पानी हाले सरह भएको स्थानीयको गुनासो छ । कच्चि अवस्थामा रहेको सडक हिलाम्मे हुँदा सवारी साधन फस्ने समस्या छ ।
पानी परेको अवस्थामा सवारी साधन सञ्चालन हुन सक्दैन् । सम्वन्धित निकायले दिगो, गुणस्तरीय र व्यवस्थित काम नगरेकाले बर्षेनी यस्ता समस्या आउने भएकाले करोडौ लगानी बालुवामा पानी हाले सरह भएको स्थानीय बासिन्दाको गुनासो छ ।
यस आर्थिक बर्षमा सडक मर्मत तथा स्तरोन्नतीका लागी बागलुङ नगरपालीकाले १४ करोड विनीयोजन गरेको नगर उप–प्रमुख सुरेन्द्र खड्काले बताए । उनले बर्षा रोकिन थालेपछि सडक मर्मतको कार्य सुरु हुने जानकारी दिए ।



















































































































































































































