क्षत्री समाज बागलुङ नगरको भेलाले गंगाबहादुर खत्रीको अध्यक्षतामा नयाँ नगर समिति चयन गरेको छ । शुक्रबार गठित समितिको उपाध्यक्षमा उजेली खत्री, सचिवमा हितबहादुर सापकोटा, सहसचिवमा टीकाबहादुर खड्का र कोषाध्यक्षमा नरसिंहबहादुर खत्री रहेका छन् ।
यस्तै, सदस्यमा मनकुमारी भण्डारी, जमुना रायमाझी, ठाकुरबहादुर सुवेदी, पहलसिंह क्षत्री, लोकबहादुर खड्का, तिलकबहादुर रोका र ओमबहादुर केसी रहनुभएको छ । भेलालाई सम्बोधन गर्दै क्षत्री समाज बागलुङका अध्यक्ष बाबुराज कार्कीले सामाजिक सेवाका क्षेत्रमा समाज कृयाशिल रहेको बताए । उनले समाजलाई थप सुदृढ बनाउँदै सशक्त सङ्गठनको रुपमा समाजमा स्थापित गरिने उल्लेख गरे ।
‘समाज अहिले केही सुस्ताएजस्तो भएको छ, यसलाई गति दिन आवश्यक छ’ अध्यक्ष कार्कीले भने, ‘समाजका सबै सदस्यहरुलाई म सक्रिय भएर लाग्न आग्रह गर्दछु ।’ अध्यक्ष कार्कीले क्षत्री समाज नेपालको परिवर्तको हिस्सेदार संस्था रहेको भन्दै यसका सदस्यहरु कर्मठ र देशभक्त भएको बताए । समाजले शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा विभिन्न कार्यहरु गर्दै आएको छ ।
क्षत्री समुदायका मुद्दालाई उठाउँदै आएको समाजले त्यसका अतिरिक्त विभिन्न सामाजिक कार्यमा आफूलाई सक्रिय बनाउँदै आएको छ । भेलामा बागलुङ नगरपालिकाका १४ वटै वार्डका प्रतिनिधिहरु सम्मिलित थिए । भेलाको अध्यक्षता निवर्तमान अध्यक्ष खड्गकुमारी खड्का र सञ्चालन जिल्ला सचिवालय सदस्य हिराबहादुर केसीले गर्नुभएको थियो ।







































































































































































































