११ कार्तिक २०८३, मंगलवार

 

बागलुङ नगरमा जनप्रतिनिधिको सय दिन, समग्र पक्षमा सुधार थालेका छौँ : प्रमुख पौडेल

बागलुङ नगरपालिकाले अहिलेसम्मका प्रगती बारे पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ । नगरपालिकाले स्थानीय तह निर्वाचन भएर जनप्रतिनिधि आएपछिको एकसय दिनको कार्यप्रगति जानकारी गराएको हो ।

नगरपालिका प्रमुख जनकराज पौडेल, उपप्रमुख सुरेन्द्र खड्का र वडा अध्यक्षहरु समेत पत्रकार सम्मेलनमा उपस्थित थिए । पत्रकार भेटघाटमा नगरप्रमुख जनक पौडेलले जनप्रतिनिधि निर्वाचित भएपछि समग्र पक्षमा सुधारका काम थालेको बताए । उनले एक सय दिनको प्रगतिलाई आफ्नो प्रेश विज्ञाप्तीमा १५ बुँदामा राखेका छन् ।

‘नगरवासीलाई प्रदान गर्ने सेवा सुविधा र हित सम्वन्धि कार्यलाई सहज र सरल रुपमा सञ्चालन गरिएको उल्लेख छ,’ पहिलो वुँदामा भनिएको छ ।
नगरका योजना र कार्यक्रमलाई कामको आधारमा मुल्याङ्कन गर्ने परिपाटीलाई स्थापित गरिएको नगरप्रमुख पौडेलले बताए । ‘बागलुङ नगरको खानेपानी, ढलनिकास, फोहोर व्यवस्थापनमा देखिएको समस्या समाधानका लागि पहल सुरु गरेका छौँ,’ नगरप्रमुख पौडेलले भने, ‘खानेपानीको मुहानमा फिल्टर टंक नहुँदा समस्या भएको छ, त्यसको व्यवस्थापनका लागि आवश्यक पहल सुरु भएको छ ।’

उनले बानपा–४ बसपार्क बनाउन डिपिआर पुरा गरेर निर्माणको लागि प्रक्रिया अघि बढाईएको बताए । माझिवस्ती व्यवस्थापनको लागि आवास निर्माणको काम भईरहेको भन्दै निकट भविष्यमै हस्तान्त्रण गरिने उनको भनाई छ । सिटीहल बनपा–३ चिप्लेटीमा बनाउने टुङ्गो लगाएर शहरी विकास तथा भवनन डिभिजन कार्यालय मार्फत काम अघि बढाईने पौडेलले बताए ।

बजारको ढल निकासलाई बहुवर्षे केन्द्रीय योजना अन्तरगत यो बर्ष १ करोड ६० लाख बजेटबाट काम थालिने उनको भनाई छ । नगरपालिका र कालिका भगवती गुठीको सहकार्यमा कालिका बन्यजन्तु संरक्षण उद्यान सञ्चालनको कार्य अघि बढेको पौडेलले बताए ।

उपप्रमुख सुरेन्द्र खड्काले करको दर बढी भएको भन्ने गुनासो बारे व्यवसायीसँग छलफल गरेर बुझाईमा एक रुपमता ल्याउने कार्य भएको बताए । उनले मापदण्ड विपरित बनेका घर बारेको समस्या समाधानका लागि अध्ययन थालिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung