
पर्वत सामुदायिक परियोजना सञ्चालन गरेको गुडनेवर इन्टरनेशनल नेपाल र समाज विकास श्रोत विकास केन्द्र (सोडेक नेपाल)माथि समाज कल्याण परिषदले छानबिन थालेको छ । परियोजनामा भ्रष्टाचार र जबरजस्ती गाउँमा धर्म परिवर्तन गराएको उजुरीपछि दुबैसंस्था छानबिनको दायरामा आएका हुन ।
फलेबास नगरपालिकाको भंगरा, लिमिठाना, मोदी गाउँपालिकाको देउराली, क्याङ, भुकताङ्लेलगायतका गाउँका एक हजार तीन सय २० जना बालबालिकालाई सेवा पु¥याउने गरी कार्यक्रम सुरु गरेको संस्थाले आर्थिक अनियमितता गरेको उजुरी परेको हो । संस्थाले आर्थिक अनियमिततासँगै सेवाग्राही बालबालिका तथा उनीहरुका परिवारलाई धर्म परिवर्तन गर्न दबाब दिएको उजुरी परेको समाज कल्याण परिषदले जनाएको छ ।
पर्वतमा गुडनेवर इन्टरनेशनलले सन् २०१२ देखि नै काम गर्दै आएको छ । त्यस अवधिमा कार्य गर्दा वालवालिकाको छात्रबृत्तिको रकम बितरण नगरी दुरुपयोग गरेको, कफि सहकारी दर्ता गरि अलपत्र छाडेको, कार्यक्रम संझौता गरि किसानलाई संझौता अनूसारको रकम उपलव्ध नगराएको उजुरी परेको परिषदस्रोतले जनायो ।
त्यस्तै अहिले सोर्डेक नपाल मार्फत संचालन गरेको कार्यक्रममा पनि रकम हिनामिना गरेको, राजनैतिक आधारमा सेवा प्रवाह गरेको जस्ता विषयमा भ्रष्टचार गरेको मनोशिक्षाको नाममा वालवालिकालाई क्रिश्चीयन तर्फ मोडेको आरोप लागेको छ । उजुरीपछि परिषदका कानुन अधिकृत रमेशराज कार्कीको नेतृत्वमा जय अधिकारी र राजन पौडेल गरी तीन जनाको टोली पर्वत आएको हो । टोलीले मोदी गाउँपालिकाको भुक र देउरालीमा पुगेर फर्केको छ ।
गुडनेवरले पर्वत जिल्लामा मनोमानि सम्बन्धित निकायसंग समन्वय नगरि काम गरेको गुनासो बढ्दै आएको थियो । मोदी गाउँपालिका वडा नम्बर १ मा सुरुदेखि नै गुडनेवरले काम गर्दै आएपनि वडासँग समन्वय नगरेको वडा अध्यक्ष गौबहादुर गुरुङले बताए । ‘अहिले छानबिन टोली आएपछि बल्ल सिफारिस लिन आएका थिए, अहिलेसम्म कहिल्यै समन्वय भएन’ गुरुङले भने ।
गुडनेवरले स्थानिय साझेदार संस्था छनौट गर्दा निवेदन गर्ने संस्थामध्ये के को आधारमा छनौट गरेको बिषय समेत अहिलेसम्म सार्वजनिक नगरेकोमा यहाँका केही गैरसरकारी संस्थाले बिरोध गर्दै आएका थिए । ‘के के आधारमा साझेदार संस्था छनौट गरेको भन्ने बिषयमा निबेदन हाल्ने हामीलाई अहिलेसम्म जानकारी गराइएको छैन’ लोकतान्त्रिक गैरसरकारी संस्था महासंघ पर्वतका अध्यक्ष गणेशबहादुर क्षेत्रीले भने । गुडनेवरले सवै सूचना उपलव्ध नगराएसम्म कार्यक्रम अगाडी नवढाउने निर्णय तत्कालिन जिल्ला विकास समितिले गरेको थियो । तत्कालिन स्थानिय विकास अधिकारी यूवराज पौडेलले पत्र लेख्दै प्रकृया सच्चाउन आग्रह गरेका थिए । उनले उक्त अवधिसम्म कार्यक्रम स्थगन गर्नका लागि पत्र नै लेखेका थिए ।
आर्थिक अनियमितता लगायतका बिषयमा चर्को दबाब आएपछि परिषदले पर्वत जिल्लामा फिल्ड अनूगमनका लागी र सरोकारवाला निकायको धारणा बुझ्न कार्की नेतृत्वको टोली पठाएको हो । परिषदका कानून अधिकृत रमेशराज कार्किले गूडनेवर ईन्टरनेशनल र सोडेक नेपालको बारेमा उजुरी परेपछि छानबिन थालिएको बताए । ‘के के भएको छ सबै गोप्य रुपमा बुझेर छानबिन गछौ’ उनले भने ।
गुडनेवरसँग साझेदार गरेको सोडेक नेपालले भने कुनै आर्थिक अनियमितता नभएको जनाएको छ । कार्यक्रम संयोजक देवीप्रसाद तिमिल्सिनाले पत्रकार सम्मेलन गरेर पर्वत सामुदायिक परियोजनामा एक रुपैयाँ पनि जानेर अनियमितता नभएको दाबी गरे । ‘जानी जानी एक रुपैयाँ पनि आर्थिक अनियमितता गरेका छैनौ’ उनले भने । उनले परियोजनाले धर्म परिवर्तन गर्ने गरेको भन्ने कुरा पनि आरोप मात्रै भएको बताए । ‘कसैलाई जबरजस्ती धर्म परिवर्तन गर्न लगाउने काम भएको छैन’ उनले भने ।