नेकपा एमाले केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागका सदस्य रामबहादुर जिसीले समृद्ध मुलुक निर्माणका लागि नेकपा एमालेलाई बहुमत सहितको पहिलो पार्टी बनाउनु पर्नेमा जोड दिए ।
यो देशको आर्थिक विकास, सामाजिक तथा सांस्कृतिक रुपान्तरणका लागि एमालेसंग स्पष्ट योजना र काम गर्ने इच्छा शक्ति भएकाले आगामी निर्वाचनबाट एमालेलाई बहुमत सहितको पहिलो पार्टी बनाउनु पर्नेमा जोड दिए ।
नेकपा एमाले काठेखोला गाउँपालिका वडा नं. ७, रेश वडा कमिटिले शुक्रवार आयोजना आगामी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै जिसीले यस्तो बताए । यो देशमा सरकार सञ्चालनका लागि धेरै राजनीतिक दलहरु सत्तामा गएको र एमाले बाहेक कसैले पनि देशको आर्थिक विकास र सामाजिक रुपान्तरणको योजना ल्याउन नसकेको आरोप लगाउदै उहाँले एमालेले लिएको नीति र योजनाकै आधारमा आज मुलुक समृद्धिको यात्रामा अगाडि बढेको दावी गरे ।
मुलुकको आर्थिक समृद्धिसंगै राष्ट्रियताको रक्षाका लागि पनि नेकपा एमालेलाई जिताउन आवश्यक रहेको भन्दै आगामी प्रदेश र प्रतितिधि सभाको निर्वाचनमा एमालेलाई पहिलो दल बनाउन मतदाताहरुलाई उहाँले आव्हान गरे । स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुले जनताको आवश्यकताहरुका पहिचान गरी प्राथमिकताका आधारमा काम गर्दै जनतालाई समृद्धितर्फ अग्रसर गराउन अगुवाई गर्न जिसीले सुझाव दिए ।
कार्यक्रममा नेकपा एमाले बागलुङका सचिवालय सदस्य तथा काठेखोला गाउँपालिकाका सह–संयोजक अञ्जु जिसी, जिल्ला सदस्य तथा वडा नं. ७ का नवनिर्वाचित वडा अध्यक्ष प्रेम लामिछाने, एमाले क्षेत्रीय अध्यक्ष डिलबहादुर कार्की, प्रदेश विभागका सदस्य भीमबहादुर थापा, एमाले रेशका पूर्व अध्यक्ष थम्मनबहादुर जिसी, नेपाल राष्ट्रिय शिक्षक संगठनका ओमबहादुर थापा लगायतले एमालेप्रति देशभरका जनतामा देखिएको लहरले नै एमाले देशको पहिलो पार्टी बन्ने निश्चित भइसकेको बताए ।
अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले पार्टीका गतिविधिहरुलाई संस्थागत रुपमा अगाडि बढाउन, पार्टी र जनप्रतिनिधिहरुबीच समन्वय गरेर अगाडि बढ्न, जनताका आवश्यकताहरुको पहिचान गरी प्राथमिकताका आधारमा विकास निर्माणका काम गर्न, एमालेको पक्षमा आम जनताको धारणा सकारात्मक बनाउन एमाले सत्तामा रहदाँ वा विपक्षमा रहदा गरेका काम बारे जानकारी गराउनु पर्नेमा जोड दिए ।
बागलुङ जिल्लामा नेकपा एमालेलाई सबै भन्दा बढी मत आउने काठेखोला गाउँपालिका वडा नं. ७ रेशको विकास निर्माण र स्थानीय नेतृत्वका बारेमा जिल्ला नेतृत्वको ध्यानाकर्षण गराउनु पर्नेमा सहभागीहरुको जोड थियो । मत माग्ने मात्र होइन रेशको विकासमा समेत जिल्ला तथा केन्द्रले ध्यान दिनु पर्छ, अन्तरक्रियाका सहभागीहरुले भने–जिल्ला तथा केन्द्रमा पार्टीलाई प्राप्त हुने राजकीय पदहरुमा स्थानीय नेतृत्वलाई स्थापित गराउने विषयमा जिल्लाले कहिल्यै ध्यान दिएको छैन ।
रेश एमालेको गढ हो भन्ने तर यहाँको विकास र स्थानीय नेतृत्वलाई स्थापित गराउने विषयमा भने जहिले पनि अर्घेल्याई गर्ने गरेको भन्दै सहभागीहरुले वेवास्ताले समस्या सिर्जना गर्ने बताए । अन्तरक्रियामा जनप्रतिनिधिहरु चित्रकुमारी थापा (शारदा) र कृष्णबहादुर थापा पार्टीका अगुवाहरु टिकाबहादुर थापा, डिलबहादुर कार्की, ओमकार कुँवर, चुडामणी जि.सी, यामबहादुर कार्की, युवराज गौतम, राजु थापा, थम्मनबहादुर कार्की लगायतले एमालेको संगठन विस्तार र समाज रुपान्तरणमा एमालेको भूमिका लगायतका विषयमा सुझाव दिए ।







































































































































































































