नेपाल पत्रकार महासंघ बागलुङ शाखाले पत्रकारितालाई थप मर्यादित बनाउन पहल थालेको छ । शाखाले पहिलो चरणमा पत्रकारिताबाट अलग पेशा व्यवसायमा लागेका आफ्ना साधारण सदस्यहरुलाई स्वेच्छिक रुपमा सदस्यता त्याग गर्न सार्वजनिक रुपमा आग्रह गरेको छ ।
महासंघका शाखा अध्यक्ष दिल शिरीषको अध्यक्षतामा शनिवार बसेको बैठकले पत्रकारितालाई थप मर्यादित, व्यवस्थित र व्यवसायिक हिसावले अघि बढाउन शुद्धिकरण अभियान अन्र्तगत पहिलो चरणमा स्वेच्छिक रुपमा सदस्यता त्यागको घोषणा गर्न सार्वजनिक रुपमा आव्हान गर्ने निर्णय गरेको शाखा सचिव राम थापा ‘अविरल’ले जानकारी दिए ।
‘स्वेच्छिक सदस्यता त्यागको घोषणा नैतिकताका हिसावले सक्रिय पत्रकारितामा नरहेकाहरुले स्वतस्फुर्त गर्नुहोस् भन्ने हाम्रो अपेक्षा हो,’ शाखा अध्यक्ष शिरीषले भने, ‘यसको अर्थ कुनै बेला पत्रकार भएर उहाँहरुले गरेको योगदानको अवमूल्यन गर्न खोजिएको होइन, यसमा हामी सजग छौ, बिगतको योगदानका लागि यथोचित सम्मान गर्नेछौ ।’
अहिलेको बिद्यमान अवस्था सदस्य संख्या बढी देखिने तर सक्रिय पत्रकारितामा दुई दर्जन भन्दा बढी नरहेकाले पत्रकार र पत्रकारिता माथि प्रश्न उठेकाले शुद्धिकरणा अभियानका लागि पहल गरिएको अध्यक्ष शिरीषले बताए । अहिले पत्रकार महासंघ बागलुङ शाखामा १ सय ८१ साधारण सदस्य छन् ।
शुद्धिकरण अभियानका लागि पत्रकार सम्वद्ध संघ संगठन र साधारण सदस्य रहेका पत्रकारहरु सँग पनि छलफल र समन्वय गरेर अघि बढ्ने महासंघले जनाएको छ । महासंघले यही असोज ७ गते भित्र समाचार, लेख, अडियो,भिडियो सामग्री र सम्वन्धित संस्थाको सिफारिस लिएर साधारण सदस्यता नविकरण गर्न पनि पत्रकारलाई आव्हान गरेको छ ।
बैठकले ‘हामी सबैको रहर, पत्रकार महासंघ बागलुङको घर’ अभियान उत्साहजनक भएको निष्कर्ष सहित अभियान र भवन निर्माण कार्यलाई थप तिव्रता दिने निर्णय गरेको छ ।
यसैगरी, पत्रकार महासंघले कृषि विकास कार्यालयको समन्वयमा हरेक बर्ष प्रदान गर्दै आइरहेको कृषि पत्रकारिता पुरस्कार–२०७३’ छनोट समितिको सिफारिसको आधारमा छापा माध्यम तर्फ नागरिक दैनिकमा कार्यरत संगम घर्ति, बिद्युतिय (श्रव्य,दृश्य) तर्फ रेडियो परिवर्तन बुर्तिबाङका सुमन सुनार र न्यू मिडिया तर्फ गलकोट खबर अनलाइनमा कार्यरत बालकृष्ण सुवेदीलाई प्रदान गर्ने निर्णय गरेको छ ।
पत्रकार हरिनारयण गौतम र उहाँको परिवारले आफ्ना दिवंगत माता पिताको स्मृतिमा स्थापना गर्नुभएको ‘नन्दहरि सिर्जनशिल पत्रकारिता पुरस्कार २०७३ र ०७४’ प्रदान गर्नका लागि पाँच सदस्यीय छनोट समिति गठन गरिएको छ ।
जसमा पत्रकार महासंघका अध्यक्ष दिल शिरीष, पुरस्कार कोषका तर्फबाट संरक्षक तथा महासंघका निवर्तमान केन्द्रिय सदस्य हरिनारायण गौतम, पूर्व अध्यक्ष राजेशचन्द्र राजभण्डारी, सल्लाहकार ज्ञानेन्द्र गौतम र नागरिक समाजका संयोजक काजीगाउँले श्रेष्ठ रहेको महासंघले जानकारी दिएको छ ।



















































































































































































































