ढोरपाटन नगरपालिका वडा नम्बर–६ सुब्जागाँउमा मिलन महिला आमा समुहले निर्माण गरेको २ कोठे भवनको उद्घाटन गरिएको छ । भवनको उद्घाटन ढोरपाटन नगरपालिका प्रमुख देवकुमार नेपालीले गरेका हुन ।
कार्यक्रममा नगरपालिकाका उपप्रमुख करमती पुन, जग्गादाता दलवहादुर घर्ती, चन्द्रमला घर्ती वडा नम्बर ६ का वडा अध्यक्ष जिवनकुमार पुन, वडा नम्बर ५ का अध्यक्ष लक्ष्मण पुन, उत्तरगंगा मावि स्रोतकेन्द्रका पुर्व स्रोत व्यक्ति थमप्रकाश छन्त्याल, वडा नम्बर–५ र ६ का सचिव कमलप्रसाद कँडेल ढोरपाटन नगरपालिकाका नायब सुव्वा चण्डिराज पौडेल, नेकपा माओवादी केन्द्रका नेता दधिराम अर्याल, ढोरपाटन नगर कार्यपालिका सदस्य गोकुल शेर्चन, नेकपा एमालेका जिल्ला कमिटी सदस्य केशर छन्त्याल लगाएतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा वोल्दै नगर प्रमुख नेपालीले सुब्जागाँउ तथा आसपासको क्षेत्र पर्यटकीय सम्भावना बोकेको ठाँउ भएकाले यस क्षेत्रको विकासका लागि आमा समुह सक्रिय भएर लाग्नुपर्ने बताए ।
‘महिला समुहले गर्ने हरेक सामाजिक कार्यमा म जुनसुकै समयमा पनि सहयोग गर्न तयार छु,’ उनले भने । नेपालीले आमा समुहले विगतदेखि नै सह्रानिय कार्य गर्दै आएकोमा धन्यवाद दिए ।
आय आर्जनका लागी आफुबाटै थोरै थोरै रकम वचत गरेर सहकारी सञ्चालन गर्न आग्रह गर्दै उनले सहकारी दर्ताका लागि अवश्यक सहयोग गर्ने बताए । महिला समुहले उक्त ठाँउमा अंग्रेजी माध्यमबाट वाल शिक्षा सञ्चालन गर्न चाहेमा भवन निर्माणमा सहयोग गर्ने बताए ।
नगरप्रमुख नेपालीले आमा समुहका लागी बुर्तिबाङमा रहेको इमेज वचत तथा ऋण सहकारीमा खाता खोली आफ्नो व्याक्तिगत रुपमा नगद रु २५ हजारको अक्षयकोष स्थापना गरी दिने बताए ।
कार्यक्रमकै अवसरमा भवन निर्माणका लागी सहयोग गर्ने जग्गादातालाई सम्मान समेत गरिएको थियो । आमा समुहको २ कोठे भवन गत जेठ ५ गतेदेखि निर्माण कार्य सुरु भइ असार ९ गते सम्पन्न भएको थियो ।
आमा समुहको भवन नगद रु ५ लाख र जनश्रमदानबाट निर्माण गरिएको आमा समुहकी अध्यक्ष हिराकुमारी घर्तीले बताईन ।भवन निर्माणका लागी नगरप्रमुख देव कुमार नेपालीले व्याक्तिगत रुपमै १ लाख १५ हजार ८५ रुपैया बराबरको निर्माण सामाग्री सहयोग गरे ।







































































































































































































