
बागलुङ नगर विकास समितिको अध्यक्षमा नेकपा माओवादी केन्द्रका केन्द्रय सदस्य रतनप्रसाद श्रेष्ठ नियुक्त भएका छन् । नेपाल सरकार शहरी विकास मन्त्री स्तरीय निर्णयबाट उनी आगमी २ बर्षका लागि नगरविकास समिति अध्यक्षमा नियुक्त भएका हुन् ।
भदौ ११ गतेको निर्णय अनुसार श्रेष्ठलाई अध्यक्षमा मनोनयन गरिएको चिठी उनको नाममा प्राप्त भएको छ । उनलाई बागलुङ नगरविकास समितिको अध्यक्षमा मनोनित गरेको चिठी मन्त्रालय अन्तरगतको नगरविकास समिति तथा साना शहर शाखाले भदौ २२ गतेको मिति राखेर काटेको छ ।
नगरविकास समिति अध्यक्षमा शहरी विकास मन्त्रीले आफ्नो पार्टीका स्थानीय नेतालाई नियुक्ति गर्ने अभ्यास रहँदै आएको छ । माओवादी केन्द्रबाट शहरी विकास मन्त्री बनेका प्रभु शाहले उनलाई बागलुङ नगरविकास समितिको सातौँ अध्यक्ष मनोनित गरेका हुन् ।
श्रेष्ठको नाममा पठाईएको चिठीमा भनिएको छ, ‘नेपाल सरकार मन्त्रीस्तरको मिति २०७४ भन्दौ ११ गतेको निर्णय अनुसार तपाईलाई बागगलुङ नगरविकास समिति बागलुङको अध्यक्ष पदमा बढीमा २ बर्षको लागि मनोनित गरिएको व्यहोरा अनुरोध छ ।’
श्रेष्ठ माओवादी केन्द्रका राष्ट्रिय महाधिवेशन आयोजक समिति सदस्य, नेवा राष्ट्रिय मुक्तिमोर्चा तथा नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका केन्द्रीय सदस्य हुन् । बागलुङ बजार निवासी उनी उद्योग व्यापार संगठन बागलुङका निवर्तमान संयोजक समेत हुन् ।