निसी जनजागरण युवा क्लवको आयोजना र सामुदायिक रेडियो परिवर्तन तथा नेपाल पत्रकार महासंघ बागलुङको समन्वयमा बिहिबारदेखि निसीखोला गाउँपालिकाको झिवाखोलामा १ हप्ते पत्रकारिता तथा उद्घोषण तालिम सुरु हुँदैछ ।
पत्रकारिता पेशामा आवद्ध हुन चाहने तथा उदघोषण कलाको क्षमता विकास गराउन चाहनेहरुले तालिमका लागि आवेदन भरेका आयोजक संस्थाका सचिव कुम्बीर विश्वकर्माले बताए ।
निसीखोला गाउँपालिका अन्तरगतका विभिन्न वडा तथा पायक पर्ने अन्य गाउँपालिकाबाट समेत प्रशिक्षणमा भाग लिन फर्म भरेको स्थानीय सहजकर्ता मिलन हमालले बताए । अहिलेसम्म ३५ भन्दा बढीले तालिमका लागि फर्म भरिसकेका छन् ।
केहीले बिहिबार नै फर्म भर्ने तयारी रहेको हमालको भनाई छ । तालिममा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष दिल श्रीस, नेपाल टेलिभिजनका बागलुङ सम्वाददाता किरण आचार्य, पत्रकार महासंघका जिल्ला सदस्य लोकेन्द्र सुनार, रेडियो परिवर्तनका स्टेशन म्यानेजर राम सुवेदी र स्टेशन कोर्डिनेटर प्रशान्त घर्तिले प्रशिक्षण दिने भएका छन् ।
तालिममा रेडियो तथा अनलाईन पत्रकारिता रेडियो उदघोषण, कार्यक्रम सञ्चालन तथा फोटो भिडियो पत्रकारिता सिकाउने प्रशिक्षण तालिका रहेको छ । तालिमको बिहिबार विहान ११ बजे उदघाटन कार्यक्रम रहेको छ । आयोजकका तर्फबाट सबै तयारी पूरा भएको बताइएको छ ।







































































































































































































