२७ बैशाख २०८१, बिहीबार

 

एक हजार लियोलाई पञ्चकोट घुमाईने

लियो क्लब ३२५ बी १ को पहिलो काउन्सेलिङ मिटिङमा बागलुङ आउने लियोहरुलाई पञ्चकोट घुमाईने भएको छ । लियो क्लब अफ बागलुङ कालिकाको आयोजनामा लियो क्लब ३२५ बी १ को पहिलो काउन्सेलिङ मिटिङ यही भाद्र ३१ र असोज १ मा बागलुङ बजारमा हुँदैछ ।

बैठकमा देशभरबाट एक हजार बढि लियोहरु सहभागी हुने र उनीहरुलाई यहाँको धार्मिक तथा पर्यटकीय स्थलहरुको भ्रमण गराईने मूल आयोजक समितिका संयोजक भुवन कँडेलले बताए । ठूलो कसरतपछि हामीले जिल्लामा यो मिटिङ आयोजना गर्ने अवसर पाएका छौं, कँडेलले भने,‘यो हाम्रो लागि जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको प्रचार गर्ने अवसर हो ।’

पाहुनालाई बागलुङ कालिका मन्दिर र पञ्चकोट पु¥याउने लक्ष्य रहेको उनले सुनाए । ‘बागलुङ कालिका मन्दिरमा त सबै जानुहुन्छ नजिकै भएकाले समस्या छैन,’ उनले भने,‘पछिल्लो समय पञ्चकोटको चर्चा सुनेका साथीहरुले त्यहाँ जाने इच्छा पनि जनाएका छन । हामी उहाँहरुलाई त्यहाँसम्म पु¥याउने कोसिसमा छौं ।’

दुई दिनसम्म चल्ने बैठकका लागि करिब २४ लाख रुपैयाँ खर्च लाग्ने लियो क्लब अफ बागलुङ कालिकाका अध्यक्ष सन्दिप कार्कीले बताए ।

‘यो एउटा भव्य कार्यक्रम नै हो, यसको आयोजनाका लागि करिब २४ लाखको हाराहारीमा खर्च लाग्छ भन्ने अनुमान छ,’ उनले भने,‘लियो साथीहरुको रजिष्ट्रेसन र यहाँका उद्योगी व्यवसायी तथा संघ संस्थाहरुको सहयोगबाट यो खर्च व्यवस्थापन गर्ने तयारीमा लागेका छौं ।’

मुलुकका विभिन्न ठाउँबाट आउने पाहुनाका लागि यहीका होटलहरुमा बस्ने व्यवस्थापन मिलाएको समेत उनले बताए । जिल्लाको स्थानीय उत्पादन तथा कला, संस्कृतिका प्रवद्र्धन गर्दै आन्तरिक र बाह्य पर्यटकहरुका लागि प्रचारप्रसार गर्न कार्यक्रम महत्वपूर्ण हुने बागलुङ उद्योग वाणिज्य संघका उपाध्यक्ष समेत रहेका लायन्स क्लब अफ बागलुङ कालिकाका पूर्व अध्यक्ष नरेश कँडेलले बताए ।

‘दुई दिनसम्म यहाँका सबै होटलहरु भरि भराउ हुनेगरी आयोजना गर्न लागिएको यो कार्यक्रमले यहाँको आर्थिक कारोबारलाई चलायमान गराउन मद्दत गर्नेछ,’ कँडेलले भने,‘यो कार्यक्रमलाई लियोहरुको बैठकको रुपमा मात्र नहेरी जिल्लाको पर्यटन प्रवद्र्धनको अवसरको रुपमा सबैले लिनुपर्छ । यसलाई सफल पार्न सबैको सहयोग जरुरी छ ।’

पछिल्लो समय बागलुङ नगरपालिकाको भान्सामा पञ्चकोट नामबाट धार्मिक तथा पर्यटकीय स्थलहरुको निर्माण कार्यले गति लिएपछि जिल्लामा भित्रिने आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्या समेत बढ्दै गएको छ ।
संगम घर्तीमगर

प्रतिक्रिया दिनुहोस्