४ श्रावण २०८३, सोमबार

 

जुनोले पठायो वृहस्पति ग्रहका अद्भुत तस्बिरहरु [फोटो फिचर]


 खगोलशास्त्रीय मिडियामा गत हप्ता कसिनी अन्तरिक्ष यानको अन्त्यको कथाले विशेष महत्व पायो । तर अहिले चालु रहेको अर्को मिसन, जुनो मिसनले पनि गत हप्ता नै धेरैको ध्यान तान्यो, वृहस्पतिका अद्भुत तस्बिरहरु पठाएर ।

जुनो अन्तरिक्ष यान अहिले सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह वृहस्पतिको परिक्रमा गरिहेको छ । सो यानले सन् २०१८ सम्म वृहस्पतिको अध्ययन गरिरहनेछ । हालसालै जुनोले वृहस्पतिका अद्भुत तस्बिरहरुको अर्को सेट पठाएको छ ।

यी तस्बिरहरु संशोधन गरिएपछि सार्वजनिक गरिएका हुन् । नासाले जुनोको जुनोक्यामले खिचेका तस्बिरहरुको ‘र’ फाइल नै अनलाइनमा राख्छ । ती ‘र’ फाइलहरुलाई संशोधन गर्नको लागि दिएको निवेदन स्वीकृत भएपछि निवेदकले संशोधन गर्न पाउँछ । त्यस्ता संशोधित तस्बिरहरु पछि नासाले सार्वजनिक गर्छ ।

गत हप्ता सार्वजनिक गरिएका अधिकांश तस्बिरहरु जुनोले गत सेप्टेम्बर १ मा वृहस्पतिनजिक जाँदा खिचेका तस्बिरहरु हुन् । जुनोले वृहस्पतिलाई हरेक ५३ दिनमा परिक्रमा गर्छ । यसरी परिक्रमा गर्दा वृहस्पतिबाट आउने हानिकारक विकिरणबाट बच्नको लागि जुनो यान केही समय मात्रै ग्रहको नजिक भएर गुज्रिएर अधिकांश समय ग्रहबाट टाढा रहन्छ, पिङ खेलेजस्तै । यसरी ग्रहको नजिक भएर गुज्रने क्रममा नै यसले तथ्याङ्क संकलन गर्ने र तस्बिर खिच्ने कामहरु गर्छ । पछिल्लो परिक्रमाको दौरान जुनो वृहस्पतिको वायुमण्डलको ३ हजार ५०० किलोमिटर माथि भएर गुज्रिएको थियो ।

जुनोको प्रारम्भिक मिसन २०१८ को जुलाईसम्मको लागि तय गरिएको छ । तर यदि यानको अवस्था राम्रो रहेको खण्डमा मिसनलाई लम्ब्याउन पनि सकिने नासाले जनाएको छ ।

जुनोले पछिल्लो पटक पठाएका तस्बिरहरुले बृहस्पतिका विशाल आँधीहरुको अद्भुत सुन्दरता झल्काउँछ । एउटा तस्बिरमा ग्रहको एक छेउबाट अर्को छेउसम्म फैलिएको विशाल आँधीको सुन्दर प्याटर्न देख्न सकिन्छ । अन्य दुई तस्बिरहरुमा ग्रहमाथि एउटा उपग्रहको छायाँ देख्न सकिन्छ, यद्यपि त्यो कुन चाहिँ उपग्रह हो भन्ने कुरा यकिन गर्न सकिएको छैन ।

बोनसको रुपमा जुनोले खिचेका तस्बिरहरुलाई मिलाएर छोटो भिडियो पनि बनाइएको छ । हेर्नुहोस् –

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung