२७ बैशाख २०८१, बिहीबार

 

चन्द्रागिरीमा बनेको पृथ्वीनारायण शाहको सालिक राष्ट्रपति भण्डारीद्वारा अनावरण

राष्ट्रपति विद्यादेवी भण्डारीले चन्द्रागिरि हिल्स लिमिटेड परिसरमा बनाईएको पृथ्वीनारायण शाहको पूर्ण कदको सालिक आइतबार अनावरण गरेकी छन् ।

चन्द्रागिरि हिल्स लिमिटेडल बनाएको यो शालिक ५ फिट ८ इन्च उचाईको छ । मुर्तीकार नविन सुवेदीले सो सालिक बनाइएका हुन् । पृथ्वीनारायण शाहले सुरु गरेको नेपाल एकीकरणको अभियानका क्रममा राजनीतिक र धार्मिक रुपले सम्बन्धित रहेको यस चन्द्रागिरिमा उनको शालिक राख्नु नेपाली इतिहासको संरक्षण र सम्बर्धनमा एक महत्वपूर्ण योगदान पुग्ने भन्दै चन्द्रागिरी हिल्स लिमिटेडले शाहको सालिक बनाएको जनाएको छ ।

शाहले अहिले भालेश्वर मन्दिर रहेको स्थानमा बसेर काठमाडौं उपत्यकामाथि विजय प्राप्त गर्न सकौँ भनी कामना गरेको बताइन्छ । कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले वर्तमान विशाल नेपालको जग एकीकरणको समयमै बसालिएको बताउँदै तत्कालीन अन्तर्राष्ट्रिय परिस्थिति र सामाजिक परिवेशमा सबै जातजाति, भाषाभाषी र स साना सामन्ती राज्यरज्यौटाहरुलाई एकताको सुत्रमा बाँधेर सबल र एकीकृत राज्य निर्माण गर्नु तत्कालीन आवश्यकता भएको र त्यस ऐतिहासिक कार्यलाई पृथ्वीनाराण शाहले सम्पन्न गरेको बताईन् ।

उनले चन्द्रागिरी प्राकृतिक सौन्दर्यले भरिपुर्ण भएकाले पर्यावरणीय संवेदनशिलतालाई कायमै राखी स्थानीय जीवनस्तर उकास्ने तथा पर्यटनको विकासमार्फत नेपालको समृद्धि हासिल गर्ने काममा लाग्नुपर्नेमा जोड दिईन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्र नारायाण देवले चन्द्रागिरि हिल्सले केवलकारको निर्माणमात्र नभएर सांस्कृतिक एवम् धार्मिक पर्यटनको विकासका एकीकृत योजनाहरु ल्याई प्रसंशनीय काम गरेको बताए । सन् २०१८ को पर्यटन पुरस्कार चन्द्रागिरि हिल्सलाई प्रदान गर्ने निर्णय नेपाल सरकारले गरेको जानकारी गराए ।

कार्यक्रममा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, एकीकृत नेकपा माओवादीका नेता नाराणकाजी श्रेष्ठ, राप्रपा नेपालका अध्यक्ष कमल थापा, एकीकृत राप्रपा राष्ट्रवादीका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनी, पूर्व अर्थमन्त्री डा.रामशरण महत, राजपाका नेता शरतसिंह भण्डारी, विनोद श्रेष्ठ, सुवाससिंह ठकुरी र प्रेमबहादुर सिंहले ऐतिहासिक स्थलमा पृथ्वीनारायण शाहको शालिक निर्माण गरेर इतिहासको संरक्षण र सम्बर्धनका लागि यस चन्द्रागिरि हिल्स लिमिटेडले प्रशंसनीय कार्य गरेको बताए ।

चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले छोटै समयमा यो पर्वत काठमाडौं र समग्र देशबासीकै आकर्षक पर्यटकीय एवम् धार्मिक गन्तव्यका रुपमा स्थापित भइसकेको जानकारी दिए । उनले यस लिमिटेडले यस क्षेत्रलाई आगामी दिनमा एकीकृत पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने विभिन्न कार्यक्रमहरुको पनि जानकारी गराए ।

लिमिटेडका लगानीकर्ता मिनबहादुर गुरुङले राष्ट्रपति विद्यादेवी भण्डारीसहित सबैजना आमन्त्रित आदरणीय व्यक्तित्वहरुलाई धन्यवाद ज्ञापन गरे ।

चन्द्रागिरी हिल्स लिमिटेडका अनुसार
यस ऐतिहासिक चन्द्रागिरि पर्वतमा केवलकार निर्माण भई सञ्चालनमा रहेको छ भने पृथ्वीनारायण शाहले त्यस समयमा उपत्यका जित्ने शक्ति प्राप्तहोस भनी कामना गरेको स्थानमा भालेश्वर महादेव मन्दिर निर्माण भईसकेको छ । जुन हिन्दू धर्मावलम्बीका लागि अति महत्वपूर्ण र पवित्र स्थल हो ।

यसै परिसरमा सुविधा सम्पन्न र अन्तर्राष्ट्रियस्तरको होटल निर्माण कार्य जारी छ । यो निकट भविश्यमै निर्माण सम्पन्न हुनेछ । यसका साथै प्याराग्लाइडिङ, रक क्लाइम्बिङ, जिप फ्लाएरलगायतका अन्य साहसिक पर्यटनका योजनाहरुको पनि तयारी गरिएकोले यस क्षेत्रलाई एकीकृत पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने योजना यस हिल्सले बनाएको छ ।

अहिले नै यहाँ प्रत्यक्ष रुपमा २५० भन्दा बढी व्यक्तिले प्रत्यक्ष रोजगारी प्राप्त गरिरहेका छन् । भोलि यी सबै आयोजनाहरु सम्पन्न भइसक्दा ५०० भन्दा बढीले प्रत्यक्ष रुपमा रोजगारी पाउने छन् । अहिलेसम्मको एक बर्षको बीचमा नेपाल सरकारलाई भ्याट तथा स्थानीय करगरी रु ७ करोड २८ लाख राजस्व योगदान गर्न यो हिल्स सफल भएको छ ।

यहाँको भालेश्वर महादेव मन्दिरबाट यो अवधिमा ६३ लाख, १२ हजार ९५० रुपैयाँ भेटिघाटी संकलन भएको छ । यसलाई नेपालमै एक पारदर्शी र व्यवस्थित देवस्थलका रुपमा विकास गरी यसबाट उठेको भेटिघाटीलाई व्यवसायिक प्रयोजनमा खर्च गर्ने नभई एक पारदर्शी फण्डका रुपमा संकलन गरी धार्मिक र सामाजिक कार्यमा लगाउने योजना यस कम्पनीले बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्