२९ बैशाख २०८१, शनिबार

 

सबै क्षेत्रमा सहकारीको योगदान ३३ प्रतिशत पु¥याउन जुटौ–जिसी 

राष्ट्रिय सहकारी बैंक लिमिटेडका केन्द्रीय सञ्चालक रामबहादुर जिसीले राज्यले आर्थिक विकासका ३ खम्बा मध्ये एक महत्वपूर्ण खम्बाका रुपमा सहकारी उल्लेख गरेकोले सहकारीको योगदान राज्यका हरेक क्षेत्रमा ३३ प्रतिशत पु¥याउनु पर्नेमा जोड दिए ।

अभियान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बागलुङको ११ औं वार्षिक साधारणसभाको शुक्रबार उद्घाटन पछि बोल्दै जिसीले यस्तो बताएका हुन । राज्य सञ्चालनका लागि आवश्यक पर्ने हरेक क्षेत्रमा सहकारीको ३३ प्रतिशत योगदान र सहकारीको प्रवद्र्धनका लागि राज्यले ३३ प्रतिशत योगदान गर्ने गरी अबका दिनमा सहकारी अभियानलाई अगाडि बढाउनु पर्नेमा उहाँले जोड दिए ।

सहकारीले समाजको आर्थिक विकाससंगै सामाजिक रुपान्तरणका क्षेत्रमा गरेको योगदानको सही तथ्यांक आउन नसकेको भन्दै उहाँले सहकारीले नेपाली जनतासंग भएको श्रम र सीपलाई प्रयोग गरी पूँजि निर्माण गरेको विषय ओझेलमा परेको बताए । गाउँ गाउँमा सहकारीले आयआर्जन गर्न, वचत गर्न र उद्यमी बन्न प्रोत्साहन गर्ने, रोजगारी सिर्जना गर्ने काम गरेको भन्दै जिसीले अब सहकारीले पर्यटन, उर्जा, शिक्षा, स्वास्थ्य र यातायात क्षेत्रमा हस्तक्षेप गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतम, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिष, बागलुङ नगरपालिका वडा नंं ४ का वडा अध्यक्ष ध्रुवबहादुर केसी, संस्थाका निवर्तमान अध्यक्ष केदारनाथ उपाध्याय लगायतले अभियान सहकारी लगायत देशभरका सहकारीले समाज रुपान्तरणमा गरेको योगदान उल्लेख्य भएको भन्दै यसको थप प्रवद्र्धनमा जोड दिएका  थिए ।

कार्यक्रम संस्थाका अध्यक्ष बाबुराज कार्कीको अध्यक्षता, उपाध्यक्ष देवी शर्माको स्वागत र सचिव प्रकाश शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।  कार्यक्रममा सचिव शर्माले प्रगति प्रतिवेदन, कोषाध्यक्ष गणेश शर्माले आर्थिक प्रतिवेदन र लेखा समितिका संयोजक टिकाराम आचार्यले लेखा समितिको प्रतिवेदन पेश गरेका थिए ।

बागलुङको उपल्लाचौरमा कार्यालय रहेर नगर र गाउँ क्षेत्रका ६ सय २० जना शेयर सदस्यसंग कारोबार गर्दै आइरहेको अभियान बहुउद्देश्यीय सहकारी संस्थामा १ करोड ७१ लाख, ५६ हजार २ सय शेयर पूँजी, ९ करोड ५२ लाख ७२ हजार १ सय ८५ बचत र ९ करोड ७७ लाख ३ हजार ७ सय ३३ रुपैया कर्जा लगानी रहेको कोषाध्यक्ष गणेशप्रसाद शर्माले जानकारी दिए ।  

संस्थाले वचत तथा ऋणका साथै रेमिट्यान्स, मोवाइल रिचार्ज लगायतका काम गर्दै आइरहेको सचिव प्रकाश शर्माले जानकारी दिए ।

साधारणसभामा उत्कृष्ट व्यवयासी, शिक्षा क्षेत्रमा उल्लेख प्रगति गर्ने, उत्कृष्ट कारोबार गर्ने शेयर सदस्य र उच्च माध्यमिक विद्यालयमा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोरा छोरीलाई सम्मान गरिएको थियो ।

यसैबीच संस्थाले नेपाल पत्रकार महासंघको भवन निर्माणका लागि ५ हजार रुपैया आर्थिक सहयोग गरेको छ ।

महासंघले निर्माण शुरु गरेको भवनको सहयोगका लागि भन्दै संस्थाका अध्यक्ष बाबुराज कार्कीले पत्रकार महासंघका अध्यक्ष दिल शिरिषलाई नगद ५ हजार रुपैया प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्