१० कार्तिक २०८३, सोमबार

 

ताराखोलामा सामुदायिक रेडियो चलाउन सञ्चालक समिति: अध्यक्ष बने घर्ती

ताराखोला गाउँपालिकामा सामुदायिक रेडियो चलाउनको लागि सञ्चालक समिति गठन गरिएको छ । शुक्रबार गाउँपालिका कार्यालय अर्गल भातखाने डाँडामा भएको सर्वदलिय सर्वपक्षिय बैठकले रबिन घर्त(तारा) को अध्यक्षतामा समिति बनाएको हो । रेडियोको आवश्यकता बारे यसअघि पनि विभिन्न चरणमा छलफल भएका थिए ।

२१ सदस्यीय सञ्चालक समितिको उपाध्यक्ष कृष्ण कँडेल(तारा), सचिवमा डम्मरबहादुर थापा(हिल), सहसचिवमा हेमन्त विक(अमरभुमी) र कोषाध्यक्ष सुनकली रोका घर्ती(अर्गल) रहेका छन् ।

कार्यसमितिमा ताराखोलाका ५ वटै वडा (साबिक चार गाविस) लाई समेटिएको ताराखोलामा सामुदायिक रेडियो सञ्चालनको सम्भाव्यता अध्ययन समितिका संयोजक तथा वडा नम्बर–४ का अध्यक्ष जीतबहादुर खत्रीले जानकारी दिए । ‘रेडियो सञ्चालनको सम्भाव्यता बारे गाउँपालिका भित्र छलफल र अध्ययन ग¥यौँ,’ संयोजक खत्रीले भने, ‘सामुदायिक रेडियो चलाउने निश्कर्ष सहित सर्वपक्षिय भेलाबाट सञ्चालक समिति गठन गरेका छौँ, अब प्रक्रिया अघि बढ्छ ।’

सञ्चालक समिति सदस्यमा अर्गलबाट सनबहादुर विक, लोकबहादुर छन्त्याल र डम्मरबहादुर छन्त्याल परेका छन् । हिलबाट सुमित्रा सुनार, पूर्णलाल ढकाल, दुर्गाबहादुर बगाले, चन्द्रकुमारी नाईसा र राजकुमार अठारे छन् । अमरभुमीबाट जगबहादुर छन्त्याल र निसा पुन छन् । त्यस्तै ताराबाट पूर्णभद्र निउरे, ओमप्रकाश अर्गेजा, विवेक परियार, अनन्त कँडेल, नारायण घर्ती र मनकुमारी खड्का सदस्य छन् ।

९ सदस्यीय सल्लाहकार समितिमा दिल निसानी मगर, गंगाप्रसाद गुरुङ, थमप्रसाद रोका, सुर्यबहादुर घर्ती, खगेन्द्र विश्वकर्मा, दिपक रोका, ईन्द्रध्वज भण्डारी, बालबहादुर सुनार र खडकबहादुर कार्की रहेका छन् । रेडियो सञ्चालक समितिको पहिलो बैठक असोज २८ गते गाउँपालिका कार्यालय भातखानेडाँडामा गर्ने निर्णय भएको छ ।

बैठकले संस्था दर्ता प्रक्रिया, सेयर संकलन, वडा र टोल स्तरमा छफफल जस्ता कार्यक्रम बारे निर्णय लिने नवगठित रेडियो सञ्चालक समितिका अध्यक्ष रबिन घर्तीले जानकारी दिए । ‘अब रेडियो स्थापनाको विधिवत प्रक्रिया सुरु हुन्छ,’ घर्तीले भने, ‘आवश्यक प्रक्रिया र तयारी पुरा गरेर छिटो भन्दा छिटो रेडियो प्रसारणको तयारीमा हामी जुट्छौँ ।’

रेडियोको नाम तथा सञ्चालक संस्थाको नाम पनि बैठकबाटै टुङ्ग्याईने सचिव डम्मरबहादुर थापाले जानकारी दिए । ‘चरणबद्ध छलफलपछि रेडियो सञ्चालक समिति बनेको छ,’ उनले भने, ‘थप प्रक्रिया अब अघि बढ्छ ।’

भेलामा ताराखोला गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले स्थानीय स्तरमा सञ्चारको पहुँच बढाएर आर्थिक समृद्धिका लागि विभिन्न अवसर सृजना गर्न ताराखोलामा सामुदायिक रेडियो आवश्यक रहेको बताए । ‘गाउँ गाउँमा सुचना प्रवाह गर्न यहाँ रेडियो आवश्यक छ,’ घर्तीले भने, ‘समुदायको सहभागितामा सञ्चार अभियान सुरुवात भएको छ, यसलाई अघि बढाउन हाम्रो सक्दो सहयोग रहन्छ ।’ रेडियो सञ्चालनको लागि ताराखोला गाउँपालिकाले गाउँपरिषदबाट ७ लाख रुपैयाँ बजेट यसअघि नै विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung