२१ बैशाख २०८१, शुक्रबार

 

सीले तोडे उत्तराधिकारी तोक्ने परम्परा, तेस्रो कार्यकालको अपेक्षा

चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)का महासचिव तथा राष्ट्रपति सी जिनपिङको अर्काे पाँचवर्षे कार्यकालका लागि पुनः महासचिवमा निर्वाचित भएका छन् । राजधानी बेइजिङमा जारी चिनियाँ कम्युनिस्ट पार्टीको १९औँ महाधिवेशनले सीलाई अर्काे पाँच वर्षका लागि पुनः सो पदमा निर्वाचित गरेको हो ।

चीनको सबैभन्दा शक्तिशाली सो पदमा उनलाई बुधबार बिहान बन्द कोठाभित्र भएको मतदानले निर्वाचित गरेको होे । निर्वाचित भएपछि राष्ट्रपति सीले आगामी पाँच वर्षमा पार्टीलाई थप मजबुत बनाएर लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।

स्थायी समितिमा पाँच नयाँ अनुहार
राष्ट्रपतिले आगामी पाँच वर्षका लागि सत्तारुढ कम्युनिस्ट पार्टीका शीर्षस्थ नेताहरू सम्मिलित स्थायी कमिटी (नेतृत्वपंक्ति) घोषणा गरेका छन् । स्थायी कमिटीमा प्रधानमन्त्री ली खछ्याङले निरन्तरता पाएका छन् भने अन्य पाचजना नयाँ अनुहार छन् ।

ली झाङ्सु, वाङ याङ, वाङ हुनिङ, झाओ लेजी र हान झेङ पार्टीको नीति निर्माण गर्ने निकायको रूपमा रहेको स्थायी कमिटीमा समेटिएका छन् । नेतृत्वपंक्तिमा सामेल सबै नेता ६० वर्षभन्दा माथिका छन् । उनीहरूले आगामी पाँच वर्षपछि स्वतः अवकाश पाउनेछन् । महाधिवेशनले आगामी कार्यकालका लागि कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य र केन्द्रीय सदस्यहरू चयन गरेको छ ।

झन् शक्तिशाली बन्दै सी
एक सातादेखि जारी अधिवेशनले राष्ट्रपति सीलाई थप शक्तिशाली बनाएको छ । अधिवेशनको अन्तिम सत्रमा मंगलबार राष्ट्रपति सीको नाम र उनको आदर्श चिनियाँ कम्युनिस्ट पार्टीको विधानमा नै लेख्ने निर्णय भएको थियो । सो निर्णयसँगै उनी माओपछिको शक्तिशाली नेता बनेका छन् । राष्ट्रपति सीले चिनियाँ कम्युनिस्ट पार्टीमा अख्तियार गरेको नीति र कार्यक्रमलाई अब चीनको प्रमुख नीतिका रूपमा लिइने र त्यसलाई चिनियाँ विद्यालय र विश्वविद्यालयमा पनि अध्ययन–अध्यापन गरिने बताइएको छ ।

पाँच वर्षपछि पनि सीकै निरन्तरता ?
राष्ट्रपति सी जिनपिङले आफ्नो उत्तराधिकारीको रूपमा नेतृत्वपंक्तिमा कसैलाई राखेका छैनन् । उनले आफ्नो उत्तराधिकारीको रूपमा नेतृत्वपंक्तिमा कसैलाई नराख्नुले सन् २०२२ मा हुने पार्टीको २०औँ महाधिवेशनपछि उनको स्थानमा अरू कोही आउन नपाउने भन्ने संकेत गर्छ ।

यसअघि मंगलबार सत्तारुढ कम्युनिस्ट पार्टीले राष्ट्रपति सीलाई पार्टीको विधानमा माओसरहको स्थान दिएको थियो । पार्टीको महाधिवेशनको अन्तिम सत्रले विधान संशोधन गर्दै राष्ट्रपति सीको राजनीतिक विचारलाई ‘नयाँ युगको चिनियाँ विशेषतासहित समाजवादबारे सी जिनपिङको आदर्श’ भन्ने नारा समावेश गरिएको छ ।

सन् २०१२ मा निर्वाचित भएका सीको पाँचवर्षे दोस्रो कार्यकाल बुधबारदेखि नै सुरु भएको छ । पछिल्लो इतिहासमा चिनियाँ राष्ट्रपतिहरूले १० वर्षे कार्यकाल पूरा गरी राजनीतिबाट सेवानिवृत्त हुने गरेका छन् । तर, सी प्राविधिक रूपमा सन् २०२२ पछि पनि पार्टी प्रमुख र सेनाको प्रमुख रहिरहनेछन् ।

परम्परा तोड्दै उत्तराधिकारी चयन भएन
अधिवेशनले परम्परालाई तोड्दै राष्ट्रपति सी जिनपिङको प्रस्ट उत्तराधिकारी उल्लेख नगरी नयाँ नेतृत्व समिति गठन गरेको छ । उत्तराधिकारी उल्लेख नगरेसँगै आगामी पाँच वर्ष र सम्भवतः त्यसभन्दा बढी अवधिसम्म सीको चीनमाथिको पकड कायमै रहने प्रस्ट संकेत गरेको छ ।

उत्तराधिकारीको अनुपस्थितिले सीले अझै कति लामो अवधि चीनमा शासन गर्छन् भन्ने अनुमान गर्न कठिनाइ छ । चिनियाँ नेताहरूले पछिल्ला दशकमा आफ्नो दोस्रो कार्यकालको सुरुमा स्थायी समितिमा आफ्नो सम्भाव्य उत्तराधिकारी संकेत गर्दै आएका थिए । तर, यसपटक सो परम्परा तोडिएको छ, जसले सी अझै बढी शक्तिशाली भएको प्रस्ट हुन्छ ।

राष्ट्रपति सीले चेन माइनर र ग्वाङडोङ प्रान्तका पार्टी सचिव हु चुनहुवामध्ये एकजनलाई आफ्नो उत्तराधिकारी संकेत गर्ने अनुमान गरिएको थियो । ५० वर्षको हाराहारीमा पुगेका दुवै नेता सीका विश्वास पात्र मानिन्छन् । तर, स्थायी कमिटीमा रहेका ६ जना ६० को दशकमा छन् र पाँच वर्षको कार्यकालपछि सेवानिवृत्त हुनेछन् ।

राष्ट्रपति सीले स्थायी कमिटीका सदस्यको संख्या सातबाट घटाएर पाँच पुर्‍याउने अनुमान गरिएको थियो । तर, त्यो सबै गलत साबित भएको छ । नेतृत्व घोषणाको अवधिमा बिबिसी, फाइनेन्सियल टाइम्स, न्युयोर्क टाइम्सलगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका प्रतिनिधिलाई महाधिवेशनस्थलमा जान रोक लगाइएकोमा करेस्पोन्डन्ट क्लब अफ चाइनाले विरोध गरेको छ ।

राष्ट्रपति सीले चीनलाई कसरी परिवर्तन गरेका छन् ?
सन् २०१२ मा शक्तिमा आएपछि सी चीनको ‘मूलभूत’ नेता बनेका छन् । राष्ट्रपतिले पहिलो कार्यकालमा उल्लेख्य प्रगति गरेका छन् । चीनमा महत्वपूर्ण विकास, आधुनिकीकरण र अन्तर्राष्ट्रिय मञ्चमा चीनको बलियो उपस्थिति जनाएका छन् । तर, उनको कार्यकालमा सरकारले तानाशाही लादेको, विभिन्न प्रतिबन्ध लगाएको र अधिकारवादीमाथि चरम दमन भएको विरोधीको आरोप छ ।

राष्ट्रपति भएदेखि नै उनले भ्रष्टाचारलाई जरैदेखि उन्मूलन गर्ने वाचा गर्दै आएका छन् । उनको कार्यकालमा १२ लाख चिनियाँ अधिकारीमाथि भ्रष्टाचारको मुद्दा लागेको छ । उनीहरूमाथि राजनीतिक प्रतिशोध लिएको विरोधीहरूले आरोप लगाएका छन् ।

-एजेन्सी/नयाँपत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्